
नेपालवाणी / जनकपुरधाम
प्रत्येक वर्ष हिन्दुहरुको महान चाड बडादशैको अष्टमी तथा कालरात्रिमा हुँदै आएको बोकाबली प्रदान धनुषामा रोक लगाईएको छ । जनकपुरधाम स्थित राजदेवी मन्दिरमा प्रत्येक वर्ष हुँदै आएको बोकाबली कोरोना (कोभिड–१९) को महामारीलाई मध्यनजर गर्दै रोक लगाउने निर्णय धनुषा जिल्ला प्रशासन कार्यालयले गरेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको सर्वदलिय–सर्वपक्षिय बैठकबाट कोरोना संक्रमणको त्रासलाई मध्यनजर राख्दै यस वर्षको दशैँमा बोकाबली नगर्न निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय धनुषामा राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधिहरु, युवा क्लव, गुठी संस्थान सम्मिलत बैठकमा बोकाबली नगर्ने निर्णय गरेको हो ।
बैठकमा दशैँ संयम तरिकाले सावधानीका साथ मनाउन भनिएपनि जिल्लाका मन्दिरहरुमा बोका बली नगर्न÷नगराउन तथा भीडभाड हुने क्रियाकलाप नगर्न भनिएको छ । बोकाबलीलाई रोकेर अष्टमी तिथिमा राति क्षमापूजनको आयोजना गर्न सिडियो कार्यालयद्वारा जारी गरिएको सार्वजनिक अपिलमा भनिएको छ । परापूर्व कालदेखि दशैंको अष्टमीमा राजदेवी मन्दिरमा बोकाबली हुने प्रथा रहीआएपनि यस वर्ष जिल्ला प्रशासनको यो निर्णयसंगै पहिलो पटक बोकबली नहुने भएको छ । राजदेवी मन्दिरमा एकै रात विश्वमा सबैभन्दा बढी बोकाबलि दिइने गरिन्छ । गतवर्ष मात्र झण्डै १५ हजार बोकाबलि दिईएको थियो ।