महोत्तरी, २३ चैत ।

बर्दिबास उद्योग वाणिज्य सङ्घको आसन्न निर्वाचनमा पर्यटन प्रबद्र्धन साझा मुद्दा बनेको छ । भोलि मङ्गलबार सङ्घको नयाँ नेतृत्वका लागि सम्पन्न हुने निर्वाचनमा दुबै समूहका उमेद्वारले बर्दिबासमा उद्यम र वाणिज्य प्रबद्र्धनका लागि पर्यटनको विकासलाई मुख्य मुद्दा बनाएका छन् ।

निर्वाचनमा अध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिब, सचिब, कोषाध्यक्ष र सहकोषाध्यक्षसहित आठ पदाधिकारी र नौ सदस्यसहित जम्मा १९ सदस्यीय कार्यसमितिका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा निवर्तमान महासचिब उत्तमकुमार श्रेष्ठ र कार्यसमितिका निवर्तमान सदस्य दीपकबहादुर कार्की नेतृत्वका दुई समूहबीच प्रतिष्पर्धा हुँदैछ ।

जिल्लाको सम्पूर्ण चुरेक्षेत्र ओगटेको बर्दिबास नगर क्षेत्रमा उद्यम, ब्यापार र व्यवस्थित नगर विकासका लागि पर्यटन प्रबद्र्धन मुख्य पक्ष रहेको दुबै समूहले आफ्‌ना प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् । यसैगरी बजारक्षेत्रको व्यवस्थित पार्किङ्ग, सीपमूलक तालिममा महिला सहभागिता वृद्धि र बर्दिबास नगर क्षेत्रलाई कृषि उपज व्यापारिक केन्द्रका रुपमा विकास गराउन पर्ने निर्वाचनका साझा मुद्दा बनेका छन् ।

बर्दिबास जिल्लाकै उत्तरवर्ती मुख्य व्यापारिक केन्द्र रहँदै आएको छ । नगरक्षेत्रका १४ वडाबस्तीमा नयाँ बजारक्षेत्र विस्तार हुँदैछन् । बर्दिबास उद्योग वाणिज्य सङ्घले स्थानीयतहसँगको समन्वय र सहकार्यमा यहाँको बजार व्यवस्थापन र सुरक्षित व्यापारिक वातावरण निर्माणमा उपलब्धीमूलक नतिजा हासिल गर्ने दुबै समूहले सङ्कल्प व्यक्त गरेका छन् ।

निर्वाचनको सबै तयारी पूरा भएको सङ्घको निर्वाचन समितिले जनाएको छ । भोलि मङ्गलबार बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्म मतदानको कार्यक्रम रहेको निर्वाचन समितिका संयोजक अधिवक्ता विष्णुबहादुर कार्कीले जानकारी दिनुभयो । मतदान सम्पन्न हुनासाथ गणना गरी परिणाम सार्वजनिक गरिने तालिका छ । निर्वाचनका लागि एक हजार ६५० मतदाता छन् ।


२०८२ चैत्र २३, सोमबार १३:०५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय