काठमाडौँ । बलात्कार मानवताविरुद्ध अपराध भएकाले दोषीलाई उन्मुक्ति नदिन, संलग्नलाई मिलापत्र गरेर उन्मुक्ति दिने जनप्रतिनिधि, प्रहरी, प्रशासक, अगुवालाई समेत दण्डित गर्न दबाबसहित शान्तिपूर्ण अभियान प्रारम्भ भएको छ । अन्तर्राष्ट्रिय अहिंसा दिवसका (२ अक्टोवर)का अवसरमा मानव अधिकार तथा शान्ति समाजले आज भर्चुअल माध्यमबाट आयोजना गरेको कार्यक्रममा देशव्यापी अभियान घोषणा गरिएको हो । कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले बालिका बलात्कार मानवताविरुद्धको अपराध भएकाले सभ्यता कलङ्कित हुँदै जान नदिन मृत्युदण्डबाहेक सभ्य समाजले स्वीकार गर्ने प्रभावकारी कदम चाल्न आह्वान गर्नुभयो ।

“कानूनी शासन, स्वच्छ एवं निष्पक्ष कानूनी उपचार र सबैको मानवअधिकारको संरक्षण तथा सम्मान हुनुपर्छ, मृत्युदण्ड त्रासदी हो, ३२ वर्ष अघिदेखि राज्यले गर्ने हिंसारुपी मृत्युदण्ड उन्मूलनका लागि हामीले अभियान चलाएका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा समाजका वरिष्ठ उपसभापति गोविन्द खनाल, महासचिव सुशील बस्नेत, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव मदनबहादुर कुँवर, कोषाध्यक्ष रामकृष्ण बराललगायतले बलात्कारविरुद्ध अभियानलाई देशव्यापीरुपमा अघि बढाइने बताउनुभयो । अन्तरक्रियामा बझाङ जिल्लाका प्रशासन एवं सुरक्षा निकायका अधिकारीको समेत सहभागिता थियो । भारतीय स्वतन्त्रता आन्दोलनका अग्रणी महात्मा गान्धीलाई अहिंसात्मक आन्दोलन र सामाजिक परिवर्तनका लागि उत्प्रेरक मानिन्छ । अक्टोबर २ महात्मा गान्धीको जन्मजयन्ती पनि हो । गान्धी जयन्तीको अवसर पारेर संयुक्त राष्ट्र सङ्घले यस दिनलाई अहिंसा दिवसको घोषणा गरेको हो ।

२०७७ आश्विन १६, शुक्रबार २१:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय