सिरहा : अज्ञात समूहले हतियार देखाएर सिरहाको लहान नगरपालिका– ३ भगवानपुर गाउँ नजिकबाट एक जनासँग रु चार लाख रुपैयाँ लुटपाट गरेका छन् ।

लहानस्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्थाबाट ऋणबापतको रकम झिकेर घर फर्किदै गरेका लहान नगरपालिका– २३ गाढाका ५४ वर्षीय जागेश्वर यादवलाई दुई जनाको समूहमा आएकाहरुले हतियार देखाएर रकम लुटेको बताइएको छ ।

“रकम झिकेर साइकलमा घर फर्किदै थिए”, उनले भने, “लहान–ठाडी सडकअन्तर्गत भगवानपुरस्थित स्मार्टफोनको टावर नजिकै मास्क लगाएर बसेका अपरिचित दुई जनाको समूहले पेस्तोल देखाएर मसँग भएको सबै रकम लुटेर लग्यो ।”

अलिकति पनि हल्ला गरिए ज्यान मार्ने धम्की दिएकोसमेत पीडित यादवको दुखेसो छ । इलाका प्रहरी कार्यालय लहानका निमित्त प्रमुख प्रहरी निरीक्षक सुवास खतिवडाले रकम लुटिएको थाहा पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान गरिएको जानकारी दिए ।

पीडितको प्रारम्भिक बयानबमोजिम जनउत्थान सहकारीमा समेत गएर बुझ्दा रकम झिकेको पुष्टि भएको उल्लेख गर्दै उनले सहकारी सिसिटिभी फुटेज हेरेर थप अनुसन्धान गरिने बताए ।

२०७७ मंसिर २४, बुधबार २१:४५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय