
सिरहा : नेपाल औषधी व्यावसायी संघ, संघीय संरचनामा गए पश्चात पहिलो पटक प्रदेशकोे कार्यसमिति गठन गर्ने क्रममा प्रदेश नम्बर २को कार्यकारिणी निर्वाचन मार्फत गठन गरिएको छ ।
संघको पौष ११ गते लहानमा भएको पहिलो प्रदेश अधिवेशनबाट १७ सदस्यीय कार्यसमिति गठन गरिएको छ । लहान सिरहाका औषधी व्यावसायी शिवनाथ सिंहको नेतृत्वमा गठित कार्यसमितिमा थोक व्यावसायी तर्फका उपाध्यक्ष, कोषाध्यक्ष, सचिव र महिला सदस्यमा क्रमशः सुमनकुमार केथाल, विरगंजका सुनिल लखोटिया, रौतहटका नन्दलाल साह र महोत्तरीका मन्दिरा भट्टराई निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक अधिवक्ता राजदेव यादवले जानकारी गराएका छन । निर्वाचन संयोजक यादवका अनुसार विजेता अध्यक्ष सिंहले ६२ मत ल्याएका थिए भने उहाँका प्रतिस्पर्धी रहेका जनकपुरका प्रमोदकुमार अग्रवालले ४९ मत मात्र ल्याएका थिए । निर्विरोध निर्वाचित हुने क्रममा खुल्ला तर्फको सदस्यको पद पनि रहेको जानकारी गराउँदै निर्वाचन प्रमुख यादवले ४ जना सदस्यमा जनकपुरका श्याम सुन्दर झा र उमा शंकर साह, लहानका तापस कुमार सरकार तथा वारा, कलैयाका महेश मोदक रहेको बताएका छन ।
पौष ११ गते ९ पदको लागि भएको निर्वाचनको परिणाम पौष १२ गते आज बिहान आएको र परिणाम अनुसार बरिष्ठ उपाध्यक्षमा जनकपुरका राकेश कुमार साह तथा खुद्रा व्यावसायीको उपाध्यक्ष तर्फ राजविराजका बिनोद चन्द्र देव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । बरिष्ठ उपाध्यक्षमा साहले ५९ मत ल्याए भने उहाँका प्रतिद्वन्दी विरगंजका विश्वनाथ साह स्वणर्कारले ४६ मत ल्याएका थिए । त्यसै गरी खुद्रा तर्फ उपाध्यक्षमा जितेका देवले ६५ र पराजित भएका सप्तरी कै फैयाज अन्सारीले ४२ मत ल्याएका थिए ।
लहानको मारवाड़ी सेवा सदनमा सम्पन्न प्रदेश अधिवेशन र निर्वाचनमा विरगंजका पप्पूकुमार झाले महासचिवको पदमा ५७ मत प्राप्त गरी ५१ मत ल्याउने जनकपुरका गणेशप्रसाद साहलाई पराजीत गरी विजय हासिल गरेका छन । उप-कोषाध्यक्षको पदमा विरगंजका मानव राजपालले ६१ मत ल्याउँदा ४६ मत मात्र ल्याउने जनकपुरका राजकिशोर साह पराजीत भएका थिए । थोक तर्फका सदस्य तर्फ २ स्थानको लागि ३ उम्मेदवार रहेकोमा जनकपुरका निरंजन प्रसाद साह र विरगंजका सुनिलकुमारले क्रमशः ९० र ५८ मत ल्याई विजय पक्का गरेका थिए भने खुद्रा तर्फको २ स्थानको लागि ४जनाले प्रतिस्पर्धा गरेका थिए । खुद्रा तर्फको २ स्थानमा राजविराजका प्रमोदकुमार यादवले ९० र विरगंजका गणेश प्रसाद साहले ५१ मत ल्याई विजय हासिल गरेका थिए ।
प्रदेश नम्बर २का आठै जिल्लाका औषधी व्यावसायी सदस्य रहेका प्रदेश सभामा प्रतिनिधित्वको आधारमा कूल ११९ जना मतदाता रहेको जसमा १११ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी गराएका छन । खसेको कूल मतमा २ मत पूणर् बदर रहेको र अन्य पदमा फरक-फरक संख्यामा मत बदर रहेको समेत निर्वाचन समितिको भनाई रहेको छ ।
नेपाल औषधी व्यावसायी संघको सिरहा जिल्ला संयोजक श्याम प्रसाद राउतको अध्यक्षतामा सम्पन्न प्रदेश अधिवेशनमा संघका केन्द्रीय अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । अधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका केन्द्रीय अध्यक्ष श्रेष्ठले भने संघीय संरचनामा गएको हाम्रो संघको यो पहिलो प्रदेश समितिको गठन हो अब यस बर्षको फाल्गुण सम्ममा बाँकी ६वटै प्रदेशको प्रदेश समिति गठन गरी चैतमा केन्द्रीय समिति गठन गराउने छौं ।
प्रदेशको कार्यसमिति १९ सदस्यीय रहने व्यवस्था भए पनि १ जना सदस्य प्रदेश अध्यक्षले मनोनीत गर्ने र १ जना निवर्तमान अध्यक्ष पदेन सदस्य रहने भएको जानकारी खुद्रा तर्फबाट समितिमा निर्वाचित विनोद चन्द्र देवले जानकारी गराएका छन ।