काठमाडौं : टेलिभजन प्रस्तोता रवि लामिछानेले न्यूज २४ टेलिभिजन छाडेसंगै उनले सञ्चालन गरिरहेको लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’ विवादमा परेको छ ।

‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रसारणलाई न्यूज २४ टेलिभिजनले निरन्तरता दिने निर्णय गरेको छ भने अर्कोतिर रवि लामिछानेले पनि यही कार्यक्रम सञ्चालन गर्ने आफ्नो गुनासो टिपाउन सम्पर्क नम्बर सार्वजनिक गरेका छन् ।

लामिछानेले गत बिहिबार न्यूज २४ टेलिभिजन छाडेका थिए । बिहीबार न्यूज २४ बाट वीदा भएर बाहिरिँदै गर्दा लामिछानेले आफूले तयार पारेको भिडिओ रिपोर्ट न्यूज २४ ले काटेर प्रसारण गरेको भन्दै गुनासो समेत गरेका थिए ।

त्यही बेला लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम गर्ने तयारीमा जुटेको र यसैका लागि प्रदेश १ जाँदैछौँ भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । लामिछानेले न्यूज २४ सँगको करिव पाँच वर्षे सहकार्य टुङ्ग्याएसँगै कपिराइटको विवाद उब्जिएको हो ।

लामिछानले केही समयको विश्रामपछि नयाँ सोच र स्वरुपमा आफूले पुनः सञ्चालन गर्ने टेलिभिजन स्क्रिनबाटै घोषणा गरेका थिए ।

उनले फेरि छिट्टै आउने भन्दै शनिवार सामाजिक सञ्जालबाट ‘सिधा कुरा’ का लागि नयाँ सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।

यता, न्यूज २४ टेलिभिजनले भने ‘सिधा कुरा’को प्रसारण स्थगित भएको भन्ने लामिछानेको भनाइप्रति आपत्ति जनाउँदै कार्यक्रम निरन्तर र नियमित हुने बताएको छ ।

‘रविजी कार्यक्रमको प्रस्तोता मात्रै हो, प्रस्तोताले संस्था छोड्ने वित्तिकै कार्यक्रम स्थगित वा बन्द हुँदैन’ न्यूज २४ टेलिभिजनका महाप्रबन्धक सुधीर राजभण्डारीले भनेका छन्– ‘नियमित तालिकाअनुसार कार्यक्रम प्रसारण हुन्छ, रोकिन्न ।’

लामिछानेले भने सिधा कुरा कार्यक्रम आफ्नो पहिचानसँग मात्र नभएर जनताको प्रत्यक्ष भावना जोडिएको कार्यक्रम पनि भएकाले त्यसलाई ववारिसे बन्न नदिने भन्दै परेको ब्यहोर्ने’ बताएका छन् ।

दुई वर्ष अगाडि नै ‘सिधा कुरा जनतासँग’ को स्वामित्व कानूनीरुपमा आफ्नो बनाएका लामिछाने सम्भावित न्यायिक लडाइँमा माथि पर्न सक्ने कानून व्यवसायीहरुको बुझाइ छ ।


२०७७ माघ १२, सोमबार २०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय