लहान : कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले उद्योगमैत्री कानून निर्माण गरी उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाको स्वर्णजयन्तीको आज उद्घाटन गर्दैै उहाँले उद्योगी व्यवसायीको समस्यालाई उचित सम्बोधन गर्न उद्योगमैत्री कानूनसँगै ऋण र अनुदान दिने योजना ल्याउन लागिएको बताउनुभयो । “उद्योगी व्यवसायीका गुनासो र समस्या छन्, ती सबै समस्याको सम्बोधन गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो, “त्यसैले उद्योगी व्यवसायीसँग सल्लाह गरेर आवश्यक ऐन र कानून बनाएर सबै समस्याको सम्बोधन गरिनेछ ।”

कोभिड– १९ का कारण समस्यामा परेका उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गर्न रु ५० अर्बको ऋण दिने व्यवस्था सरकारले गरेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अगामी तीन वर्षभित्र नेपालमा फलाम उद्योग स्थापना गरिने सरकारको लक्ष्य रहेको बताउनुभयो ।

नेपालले स्वदेशमा उत्पादन हुने चिया, स्याउ, सुन्तलालाई भारत, चीनलगायतका देशमा निर्यात गर्न थालिएको बताउँदै उहाँले विगतको तुलनामा अहिले नेपालबाट फलफूल र चियाको निर्यात बढेको जिकिर गर्नुभयो । देश विकासमा व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताउँदै उहाँले अप्ठ्यारोमा परेका उद्योगी व्यवसायीको महासङ्घका प्रतिनिधिसँग बसेर छलफल गर्न जुनसुकै बेला बस्ने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले पछि बनेका कानूनले व्यवसायी मर्कामा परेको उल्लेख गर्दै पछिलोपटक व्यवसाय गर्ने वातावरण नै नहुने गरी व्यवसायीले प्रयोग गरेको ढक, तराजु ३५ दिनभित्र सरकारी निकायबाट रुजु नगराए रु ५० हजार जरिवाना र तीनदेखि छ महिनासम्मको कैद सजायले व्यापार गर्ने वातावरण नरहेको गुनासो गर्नुभयो । उहाँले ढक, तराजुको रुजु गर्ने निकाय पायकपर्ने ठाउँमा नहुने र कानूनले व्यवसायीलाई अपराधीलाई जस्तो व्यवहार गर्ने दुखेसो पोख्नुभयो ।


२०७७ फाल्गुन १९, बुधबार २१:१७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय