जनकपुरधाम : पाँच हजार वर्षअघि मिथिलाको राजधानी जनकपुरधाममा राजा जनकको दरबारमा नाम कहलिएका ऋषि–महर्षिहरू तथा विद्वान् विभिन्न विषयमा शास्त्रार्थ गर्दथे । राजा जनकले याज्ञवल्क्य, अष्टावक्र, शुकदेवजस्ता दाशर्निक विद्वान्हरूलाई दरबारमा निम्त्याई महिनौँसम्म दर्शन, ज्ञान र शास्त्रार्थ चलाउँथे । शास्त्रार्थमा विजयी विद्वान् पुरस्कृत हुन्थे । अहिले जनकपुरधाममा यसैको झल्को दिन नवमिथिला फाउन्डेसनले जानकी मन्दिरको परिसरमा जनकपुर साहित्य महोत्सव चलाइरहेको छ ।

दोस्रो जनकपुर साहित्य महोत्सवमा जानकी मन्थनदेखि राजनीतिक, मैथिली साहित्यको इतिहास, महिला सशक्तीकरण, व्यापार, पर्यटनलगायतका विषयमा छलफल र बहस भइरहेको छ । १९ फागुनदेखि २२ सम्म चल्ने महोत्सवमा जानकी दर्शन, जाऔँ जनकपुरदेखि समसामयिक राजनीति विषयमा चर्चा हुने अयोजकले जनाएको छ ।

महोत्सवमा मिथिला साहित्य, मैथिली मिठास, मुयाको मर्म, राजनीति र भविष्य, व्यापारलगायतका विषयमा बहस भइसकेको छ । आयोजक संस्थाका अध्यक्ष अमित झाको महोत्सवको उद्घाटनकै दिन अकस्मात् मृत्यु भएपछि महोत्सव प्रभावित बनेको छ । निर्देशक तथा पत्रकार दिलभूषण पाठकले भने, ‘हामीले अध्यक्ष गुमाउँदा शोक र पीडामा छौँ । तर, ती शोक र पीडालाई शक्तिमा रूपान्तरण गरेर पहिलादेखि तय भएको महोत्सवलाई स्थगित नगरी निरन्तता दिएका छौँ ।’

वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलले ज्ञानभूमि जनकपुरमा भइरहेको जनकपुर साहित्य महोत्सवले पाँच हजार वर्षअघिको अनुभूति गराएको बताएका छन् । धर्म संस्कृति, भौगोलिकता, आर्थिक स्रोत साधन तथा राजनीति अनुभवले परिपूर्ण जनकपुरको सम्बन्ध मानव सभ्यताको विकाससँग जोडिएको डा. राजेन्द्र विमलको भनाइ छ । संसारका ६ मध्ये चारवटा पूर्वीय दर्शन न्याय, शंख र निमागशाजस्ता कृति जनकपुरमै लेखिएको विश्वास छ ।

महोत्सवको उद्घाटनमा पूर्वराष्ट्रपति डा.रामवरण यादवले जनककालमा यहाँका पोखरी तथा सरोवरहरूको डिलमा बसेर विभिन्न साहित्य, कविता रचना भएको बताएका थिए । प्रदेश २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले ऐतिहासिक, धार्मिक रूपले परिपूर्ण जनकपुरको राज्यको उपेक्षाका कारण विकास निर्माणका पछाडि परेको बताउँछन् । उद्योगपति विनोद चौधरीले मिथिला कला संस्कृतिलाई आर्थिकसँग नजोडिएकै कारण यसको विकास हुन नसकेको बताए ।

पाँच हजार वर्ष पुरानो भाषा

मैथिली भाषाको इतिहास धार्मिक ग्रन्थ रामचरित्र माससँग जोडिएको छ । मैथिली भाषाको इतिहास ५ हजार वर्ष पुरानो मानिएको छ । यसको व्यवस्थित सन् १३४० मा कवि विद्यापतिले गरेका थिए । विद्यापतिकै कारण मिथिलासहित भारतका बंगाल, उडिसा, असम राज्यमा पनि मैथिली भाषाको प्रभाव परेको हो ।

राजा महेन्द्र शाहको एक भाषा र भेष नीतिले मैथिली भाषाको साहित्य कमजोर बनेको साहित्यकार तथा राजनीतिक विशलेषक रोशन जनकपुरीले बताए । ‘मैथिली भाषा र साहित्यमाथि पटक–पटक आक्रमण भएकाले नै यो भाषा अहिले वर्तमान अवस्थामा पुग्यो,’ जनकपुरी भन्छन्, ‘जबसम्म कुनै भाषा र साहित्यको सत्ता हुँदैन तबसम्म त्यो भाषा र साहित्यको विकास हुँदैन ।’ यसैगरी डा.सुरेन्द्र लाभले मैथली भाषा समयको आवश्यकता र दैनिक जीवनमा प्रयोग हुने हिसाबले लेखिएको बताए ।

janakpur literature festival - janakpur sahitya mahostwa 3

२०७७ फाल्गुन २२, शनिबार ०९:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय