काठमाडौं : १२ दिनअघि मेलम्ची खानेपानी आयोजनाको सुरुङमा छाडिएको पानी आज सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा आइपुगेको छ । परीक्षणका क्रममा सुन्दरीजलमा आइपुगेको पानीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह विद्युतीय बटम थिचेर प्रशीधन केन्द्रमा हाल्ने कार्यको उद्घाटन गरे ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट छाडिएको पानी साढे २६ किलोमिटर सुरुङ पार गर्दै प्रशोधन केन्द्रमा आइपुगेको हो । १२ दिनको बीचमा मुहानबाट पानी हालेपछि अन्तिम बिन्दुको सुरुङभित्रको ढोका बन्द गरी सजगता अपनाइएको थियो ।

परीक्षणका लागि २ सय ६० लिटर प्रतिसेकेण्ड पानी सुरुङमा हालिएको छ । परीक्षण सकिएपछि प्रतिदिन १७ करोड लिटर पानी सुरुङमार्गबाट सुन्दरीजल आइपुग्ने छ ।
परीक्षण सफल भएसँगै तीन महिनाभित्रै काठमाडौँमा मेलम्चीको पानी उपलब्ध गराउने तयारी भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

गएको असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

 

२०७७ फाल्गुन २३, आईतवार ०८:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय