
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि क्रान्तिमा जाने चेतावनी दिएका छन् ।
नयाँ नमुना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बिहीबार उनले भने, ‘म छाड्नेवाला छैन । म एकचोटि फेरि क्रान्तिमा अगाडि जानेवाला नै छु । मैले एउटा लडाइँ लडेँ, लडाइँ जित्यौँ पनि । अरु दुई/चारवटा लडाइँ हामीले जित्नै बाँकी छ ।’
कार्यक्रममा प्रचण्डले पूर्वमाओवादीलाई एक ठाउँमा ल्याउन पहल गर्ने पनि बताए । नयाँ मान्छे खोज्दा पार्टीमा महत्त्वपूर्ण भूमिका खेलेका साथी छुटेको उल्लेख गर्दै उनले त्यसलाई सच्याइनेसमेत बताए ।
विगतमा विभिन्न राजनीतिक पार्टीसँग सहकार्य गर्दा धरातल कमजोर भएको उनको भनाइ थियो । ‘योसँग मिले होला कि, त्योसँग मिले होला कि भनेर धेरै गरियो । तर, आफ्नै धरातल छुट्दा अलिकति कमजोर त भयो ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षड्यन्त्र गरेकाले आफूले त्यसको विरोध गरेको पनि उनले बताए ।