जनकपुरधाम :  अनमी पदमा काम गर्ने कर्मचारीको सरकारी तलव स्केल रु २६ हजार ५ सय छ । यसबाहेक अन्य सेवा र सुविधा पनि । नीजि क्षेत्रका क्लिनिक र अस्पतालले यो स्केल अनुसारको तलव, भत्ता अनमीलाई दिने गरेको पाइएको छैन् । तर, सरकारी अस्पतालमै काम गर्ने अनमीले सरकारी स्केल नपाइरहेको सुन्दा आश्चर्य लाग्न सक्ला । तर, यसमा आश्चर्य मान्नुपनर्देन । यो सही हो ।

प्रदेश २ सरकारको मातहत रहेको प्रादेशिक अस्पताल जनकपुरधाममै काम गर्ने नर्स, अनमीले सरकारले तोके बमोजिमको सुविधा पाइरहेका छैनन् । बिडम्बनाको कुरा त के छ भने सरकारले तोकेको भन्दा आधा रकम पनि उनीहरुले पाइरहेका छैनन् । यो अस्पतालमा काम गर्ने एक अनमीले आफ्नो तलव र ११ हजार ८ सय ८० रहेको सुनाइन् ।

‘७ बर्षदखि काम गरिरहेकी छु’ तलव भनेको त्यहीं हो’ नाम नबताउने शर्तमा ती अनमीले भनिन्, “तलव बढाउन भन्दा जागिरबाटै निकालिदिने चेतावनी आउँछ । यसर्थ बाध्य भएर त्यहीं तलवमा काम गर्नुपरेको छ ।”

यहीं तलवमा दैनिक ६ घण्टा र राति १२ घण्टासम्म काम गर्नुपरेको बाध्यता उनले सुनाइन् । ‘ति काम गरेपछि हप्तामा २ दिन मात्रै विदा पाउँछु’ उनले भनिन् ।

उनीजस्तै एक दर्जनभन्दा बढी नर्स र अनमी १२ हजार तलवसम्ममा काम गरिरहेका छन् यो अस्पतालमा । नाम नबताउने उनीहरु भन्छन्, “तलवको कुरा गर्दा त छाडेर जान नै भनिदिन्छन् । के गर्नु ?”

सरकारी अस्पतालमै स्वास्थ्यकर्मीले उचित पारिश्रमिक नपाउनु उनीहरुको श्रम शोषण गर्नु हो । यहीं अस्पतालमा केहि महिनाअघि आयोजित एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले चिकित्सकले धेर मिहिनेत गरेर र लाखौं लगानी गरेर पढेपछि उनीहरुको तलव ४० हजार मात्रै दिएर अन्याय गरिएको बताए । मुख्यमन्त्री राउतले त्यस कार्यक्रममा भनेका थिए-चिकित्सकको तलव कम्तीमा डेढ् लाख हुनुपर्छ ।”

तर, मुख्यमन्त्रीले यस्तो भाषण दिएको अस्पतालमै स्वास्थ्यकर्मीको श्रम शोषण भइरहेकोतर्फ मुख्यमन्त्री र प्रदेश सरकार अनभिज्ञ छन् ।

थोरै तलवमा काम गरिरहेका स्वास्थ्यकर्मीले यस बिषयमा पटक-पटक ध्यानाकर्षण गराउँदा पनि कसैले चासो नलिएको उनीहरुको भनाई छ । ‘एक स्वास्थ्यकर्मीले भने, “यो अस्पताल अब मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत भएको र यो प्रतिष्ठान संचालनमा आएपछि केहि तलव बढाइदिने आश्वासन आएको छ ।”

तर यसअघि पनि आश्वासन दिइएपनि पूरा नभएकाले उनीहरु आश्वासन पूरा होला भन्नेतर्फ विश्वास राखेका छैनन् ।

थोरै तलवमा स्वास्थ्यकर्मी काम गरिरहेको सन्दर्भमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादव नर्स र अनमीको सिट खाली भएपछि त्यो सिटमा काम गर्न आउनेको ओइरो लाग्ने गरेको बताउँछन् । ‘शुरुमा निःशुल्क नै काम गरिदिन्छु भनेर आउँछन् । अनि पछि तलवको अपेक्ष ागर्न थाल्ने गर्छन्’ डा. यादव भन्छन्, “निःशुल्कै काम गरिदिन्छ भनेर सोर्स लगाउनेको पनि कमी छैन् ।”

अस्पतालले भर्ना आह्वान गरेपछि प्रकृया अनुसार आउने कर्मचारीले सरकारी स्केल अनुसार नै तलव पाउने बताउँदै उनले निःशुल्कै काम गर्छु भनेर आउनेलाई जसोतसो थोरै रकम पनि दिन थालिएको बताए ।

नर्स र अनमीको पोष्ट खाली भएपनि प्रदेश सरकारले विज्ञापन निकाल्न अनुमति नदिएकाले यस्तो अवस्था आएको उनको भनाई छ । ‘भर्ना आह्वान गरेपछि त्यो अनुसारको बजेट हुन्छ । अहिले निःशुल्क काम गरिरहेकाका लागि बजेट नै छैन् । किनभने उनीहरु आफ्नै मनले निःशुल्क काम गर्छु भनेर आएका छन्’ उनले भने । टुडे एक्सप्रेस दैनिकबाट 

२०७७ फाल्गुन २८, शुक्रबार १०:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय