महोत्तरी : मिथिला माध्यमिकी परिक्रमामा पहिलो दिन भारतको मधुवनी जिल्लामा पर्ने कलना कल्याणेश्वर र दोश्रो दिन पनि मधुवनी जिल्लाकै फूलहरु गिरिजास्थान रात्री विश्राम गरेका साधुसन्तसहितका हजाराै यात्री आज तेश्रो दिनको विश्रामका लागि मटिहानी आइपुग्ने क्रम शुरु भएको हो ।

आज मटिहानीमा भव्य परिक्रमाको चहलपहल एकाबिहानैदेखि शुरु भएको छ । परिक्रमाका यात्रीलाई खानपिन, आवास, प्राथमिक उपचार र अन्य सुविधाका लागि नगरवासीले सबै प्रबन्ध मिलाएको छ ।

नेपालतर्फ महोत्तरीमा २८, धनुषामा ६२ र भारतको मधुवनी जिल्लामा ३० किलोमिटर गरी १५ दिने माध्यमिकी परिक्रमामा १२० किमीको यात्रा तय गरिन्छ । यस यात्रामा महोत्तरी जिल्लाका मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चन वनसहित पाँच विश्रामस्थल रहेको छ । कञ्चन वन विश्रामपछि धनुषा प्रवेश गर्ने यात्रीहरु क्रमशः आठौँ, नवौँ, दशौँ र एघारौँ दिनको रात्री विश्राम पर्वता, धनुषाधाम, सतोखर र औरहीमा गर्ने छन् ।

औरहीपछि पुनः भारतको मधुवनी प्रवेश गर्ने परिक्रमाको लावालश्कर बार्हौँ र तेर्हौँ दिनको रात्री विश्राम क्रमशः करुणा र बिसौलमा बसेपछि चौधौँ दिनको विश्रामका लागि पुनः कल्याणेश्वर हुँदै जनकपुरको रंगभूमि मैदान पुग्नेछन् । पन्ध्रौँ दिन बिहान जनकपुरको अन्तर्गृह परिक्रमा गरेपछि माध्यमिकी परिक्रमा पूरा हुने परम्परा छ ।

त्रेता युगमा मिथिलाबिहारी श्रीराम र किशोरीजी श्रीजानकी जनकपुर बसाइका क्रममा फागु पर्व पूर्व फागुन शुक्लपक्षमा वनबिहार गर्दै डुलेका सम्झनामा माध्यमिकी परिक्रमाको परम्परा बसेको मिथिला संस्कृतिका ज्ञाता बताउँछन् । सदचरण, एक छाक मात्र सात्विक भोजन गरेर नाङ्गै गोडाले गरिने यो यात्रा संसारिक दुखःबाट मुक्ति दिने र कल्याणदायक हुने हिन्दू मैथिल जनविश्वास रहँदै आएको छ । File : Photo

२०७७ चैत्र २, सोमबार १०:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय