जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत १५ दिनदेखि सम्पर्कविहीन छन् । गत १७ फागुनमा एउटा योजनाको ठेक्का मिलाइदिने भन्दै उनले निर्माण व्यवसायीसँग आठ लाख रुपैयाँ घुस लिएका थिए ।

चालक वीरबहादुर मगरले चलाएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको कालो रङको स्कर्पियो गाडीमा घुस रकम लिएर गाउँपालिकातर्फ जाँदै गर्दा उनलाई अख्तियारको टोली रेकी गर्दै पछि लागेको थियो ।

अख्तियारको टोलीलाई देखेपछि उनी सडक किनारमा आठ लाख रुपैयाँ फ्याँकी गाडीबाट हामफालेर फरार भएका थिए । त्यसयता उनी सम्पर्कमा छैनन् । गाउँपालिका प्रमुख नै नभएपछि कार्यालय सुनसान बनेको छ । सरकारी सेवा लिनबाट गाउँपालिकाका जनता वञ्चित भएका छन् ।

हरेक विकासका योजनामा अध्यक्ष राउतले अनियमितता गरेको तथा विगत वर्षमा भएका विकास निर्माणको खर्च सार्वजनिक नगरेकाले राउतलाई कारबाहीको माग गर्दै १८ फागुनमा स्थानीयले गाउँपालिका कार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।

दुई सातादेखि गाउँपालिकामा तालाबन्दी गरिए पनि खुलाउन उपाध्यक्ष प्रमिलादेवी महतो, निमित्त प्रशासकीय अधिकृत रुद्रनारायण यादवलगायतले कुनै चासो नदेखाएको एक सेवाग्राहीले बताए । तर, तालाबन्दी खुलाउने विषयबारे धनुषाका प्रमुख जिल्ला अधिकारीसँग समेत कुराकानी भएको महतोले बताइन् ।

गाउँपालिकाका कार्यालय नै बन्द रहँदा काम गराउन आउने सेवाग्राही रित्तै घर फर्किन बाध्य छन् । फरार भएका राउत अख्तियारले खोजिरहे पनि अहिलेसम्म पक्राउ परेका छैनन् । उनी काठमाडौंमा रहेको बुझिएको छ । गाउँपालिका कार्यालय बन्द हुँदा कर्मचारीहरू हाजिरी गरेर फर्किने गरेका छन् । विकास योजनाका कामसमेत ठप्प भएको एक कर्मचारीले बताए । नयाँ पत्रिकाबाट

२०७७ चैत्र ३, मंगलवार ०९:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय