काठमाडौं : सन् २०१९ मा सगरमाथा आरोहणका दौरान चुचुरो पुग्ने समयमा अधिक भिड लागेको फोटो संसारभर प्रचार भयो । सोही वर्ष सगरमाथामा १५ जनाको मृत्यु भयो । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत भ्रमणका दौरान बिबिसीमा स्पष्टिकरण नै दिनु पर्‍यो । सन् २०२० मा कोरोना महामारीका कारण हिमाल आरोहण बन्द भयो । सरकारले ११ चैत २०७६ देखि देशव्यापी लकडाउन सुरु भएपछि आरोहणका सबै योजना रद्द भए ।

सरकारले यो वर्ष शरद ऋतुदेखि भने आरोहण खुला गर्‍यो । बहराइनका राजकुमारदेखि कतारका राजकुमारसम्म नेपाल आएर उक्त ऋतुमा नेपालका हिमाल चढे । यसले नेपाल महामारीमा पनि सुरक्षित गन्तब्य हो भन्ने सन्देश प्रवाह गरेको सरकारी अधिकारहरुको निष्कर्ष छ । पर्यटन विभागकी निर्देशक मिरा आचार्यका अनुसार शरद ऋतुमा भएको आरोहण गतिविधिले वसन्त ऋतुका लागि हौसला थप्ने काम गरेको थियो । सोहीकारण जारी सिजनमा कम्तिमा ८ हजार मिटरभन्दा अग्ला सबैजसो हिमालमा आरोही आउने सम्भावना छ ।

महामारीका बीचमा हुन लागेको आरोहणलाई सकेसम्म कम जोखिमयुक्त बनाउने कोसिस यस पटक गरिएको उनी बताउँछिन् । ‘हामी पर्वतारोही र सहयोगीलाई सकेसम्म सहज वातावरण बनाउन कोसिस गरेका छौं,’ उनी भन्छिन्, ‘यो सिजनले समग्र पर्यटनलाई माथि उकास्न सकारात्मक भूमिका खेल्नेछ ।’ निर्देशक आचार्यका अनुसार यो सिजन सन् २०१९ को तुलनामा स्वास्थ्य सचेतनाका दृष्टिकोणबाट महत्वपूर्ण हुनेछ ।

यद्दपि आराहणमा आउने पर्यटकको यात्रा सहज-असहज हुने अवस्था भने सम्बन्धित मुलुकले लिने यात्रा प्रबन्धका नियमहरुमा पनि भर पर्नेछ । कोरोना भाइरसको महामारीबाट बच्न अझै पनि धेरै मुलुकहरुले यात्रामा कडाइ गरिरहेका छन् ।

स्वास्थ्य मन्त्रालयबाट डाक्टर सगरमाथा आधार शिविरमा खटिने : यस वर्ष स्वास्थ्य मन्त्रालयबाट सगरमाथाको आधार शिविर र नाम्चेदेखि आधार शिविरको बीचमा एक स्थानमा डाक्टर खटाइँदैछ । आरोहणका लागि पर्वतारोही र सहयोगी जान थालेसँगै डाक्टरसमेत फिल्डमा खटिनेछन् । ‘यो पटक स्वास्थ्य मन्त्रालयको समन्वयमा काजमा डाक्टर खटाइँदैछ,’ उनले भनिन्, ‘यसरी आरोहणका बेला फिल्डमा पहिलो पटक डाक्टर खटाउन लागिएको हो ।’ साविकमा जस्तैसरकारको तर्फबाट सहजीकरणका लागि खटिने सम्पर्क अधिकृतसमेत आरोहण पुरा नभएसम्म आधार शिविरमै खटिनु पर्नेछ ।

स्वास्थ्यमा विशेष चासो दिइने : विगतमा आरोहणमा आरोहीको स्वास्थ्य अवस्थाबारे त्यति धेरै चासो राख्ने प्रचलन थिएन । यसपटक भने स्वास्थ्यमा विशेष आरोही राखिने भएको छ । नेपाल आउनु अगाडि नै आरोहीले कोरोना भाइरसको परीक्षण गर्नु पर्नेछ । नेगेटिभ आएपछि मात्र नेपाल आउन पाइन्छ । नेपाल आएपछि पनि पर्यटकले अनिवार्य क्वारेन्टिनका नियम पालना गर्नुपर्छ । आरोहण अनुमति लिने बेला पर्वतारोही स्वयमःले आफू आरोहणमा जान योग्य रहेको स्वःघोषणा गर्नुपर्छ । त्यसपछि मात्र आरोहण अनुमति जारी हुन्छ ।

२०७७ चैत्र ५, बिहीबार ०९:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय