
काठमाडौं : रुरु जलविद्युत् परियोजना लिमिटेडले आजबाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ ।
कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि २० रूपैयाँ प्रिमियम थपेर १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो ।
जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको छ ।
यसअघि पहिलो चरणमा कम्पनीले फागुन ७ गतेदेखि फागुन २१ गतेसम्म आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि १०० रुपैयाँ अंकित दरमा ४ करोड ७ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको कुल ४ लाख ७ हजार ७ सय ५ कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।
उक्त आईपीओमा लगानीकर्ताले छिटोमा चैत्र २४ गतेसम्म र ढिलोमा वैशाख ३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेडले गरेको छ ।