काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवा सार्वजनिक कार्यक्रममा अक्सर लामो बोल्दैनन् । शुक्रबार बिहान कांग्रेसनिकट कर्मचारीको कार्यक्रममा भने उनले प्रशिक्षणको शैलीमा चुनाव र आगामी रणनीतिबारे लामै भाषण गरे ।

प्रतिनिधिसभाभित्रको गणित र कांग्रेसको अवस्थाबारे उल्लेख गर्दै उनले भने, ‘हामीले हाम्रो धरातल बिर्सनु हुँदैन । अहिले सरकार बनाउन संख्या छैन । जुनसुकै बेला चुनावमा जानुपर्ने अवस्था आउन सक्छ । हामी तयारी अवस्थामा बस्नुपर्छ ।’ कान्तिपुर दैनिकले लेखेको छ।

गत चुनावमा कांग्रेसले किन हार्‍यो र अब कसरी जित्ने भन्ने विषयमा बोल्दै देउवाले तीन दलको बैठक बोलाउनुको कारण पनि खुलाए, ‘बैठक बोलाएको छैन, शेरबहादुरले वास्तै गरेन, कामै गरेन भन्लान् भनेर बैठक बोलाइदिएको छु ।’ पार्टीभित्रका नेताहरूको चित्त बुझाइदिने प्रयोजनका लागि मात्र शुक्रबार अपराह्न अन्य पार्टीहरूसहितको बैठक बोलाइदिएको संकेत उनको थियो । दिउँसो भएको तीन दलको बैठक करिब त्यस्तै भयो ।

देउवाले आफ्नै निवासमा भएको कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का नेताहरूको बैठकमा केपी शर्मा ओली सरकारलाई हटाएर आफ्नो नेतृत्वमा सरकार बनाउने प्रस्ताव राखे । यो प्रस्तावमा विगतमा जस्तै जसपाले ठोस जवाफ दिएन । ओली नेतृत्वको सरकारसँग पनि समदूरीको सम्बन्ध बनाइरहेका जसपाका नेताहरूले देउवाको प्रस्तावलाई ‘पर्ख र हेर’ रणनीतिअन्तर्गत तत्काललाई तामेलीमा राखेका छन् । पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने जवाफ उनीहरूले कांग्रेसलाई दिएका छन् । सरकारले आफ्नो माग पूरा गर्नेतर्फ काम गरिरहेको खबरसमेत जसपा अध्यक्ष महन्थ ठाकुरले सुनाइदिएका छन् ।

सभापति देउवा ओली सरकारप्रति ‘सफ्ट’ भएको भन्दै कांग्रेसका बहुसंख्यक नेताले आलोचना गर्न थालेपछि उनी गत शुक्रबार केन्द्रीय समिति बैठकबाटै सरकारको विकल्प खोज्ने निर्णय गर्न राजी भएका थिए ।

२०७७ चैत्र २८, शनिबार ०७:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय