काठमाडौं : छायांकन सुरु हुनभन्दा अगाडिसम्म फिल्ममा कलाकार हेरफेर हुनु नौलो होइन । सेड्युल जुधेर वा स्क्रिप्ट चित्त नबुझेर धेरै कलाकारले साइन गरेको फिल्म छाडेका छन् । छायांकनको तयारीमा रहेको फिल्म ‘घिन्ताङ’ मा पनि अभिनेत्री हेरफेर रोकिएको छैन । पहिला फिल्ममा अभिनेत्री एलिजा गौतम भित्रिएकी थिइन् । मुहूर्तको एक हप्ता अगाडि उनले फिल्म छाड्ने निर्णय गरिन् ।

यसपछि फिल्ममा अभिनेत्री लक्ष्मी बर्देवाको प्रवेश भयो । उनले फिल्मको मुहूर्त समारोहमा आफ्नो भूमिका सशक्त र चुनौतीपूर्ण रहेको बताएकी थिइन् । तर, छायांकन सुरु नहुँदै उनले पनि फिल्मबाट हात झिकेकी छन् । उनले छायांकनरत फिल्म ‘अनन्त’ सँग सेड्युल जुध्ने भएपछि फिल्म छाडेकी हुन् । उनी बाहिरिए लगत्तै ‘घिन्ताङ’ मा अभिनेत्री केकी अधिकारीको प्रवेश भएको छ ।

केकीले स्क्रिप्ट र आफ्नो भूमिका मन परेपछि फिल्म साइन गरेको बताएकी छन् । फिल्म ‘बोक्सीको घर’ का लागि कपाल मुण्डन गरेकी उनले ‘घिन्ताङ’ मा नक्कली कपाल लगाउने बुझिएको छ । फिल्ममा उनको जोडीको रुपमा गौरव पहारी देखिनेछन् । साहित्यकार मन्दिरा ‘मधुश्री’ लेखेको ‘मासुको मुल्य’ कथामा निर्माण हुन लागेको फिल्मको बैशाख ६ गतेबाट छायांकन सुरु हुनेछ ।

एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्धको कथा पेश गर्ने फिल्ममा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ । राज लामा प्रस्तुतकर्ता रहेको ‘घिन्ताङ’ लाई दीपक श्रेष्ठले निर्देशन गर्दैछन् । उनले सात वर्षपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । भर्खरै कोरोनालाई जितेका उनले फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर नछाड्ने बताएका छन् ।


२०७७ चैत्र २८, शनिबार १८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय