
काठमाडौं : धनुषामा समाचार संकलन गर्न पुगेको पत्रकारमाथि प्रहरी गरेको कुटपिट तथा दुर्व्यवहारको घटना नसेलाउदै महोत्तरीमा अर्को घटना घटेको छ ।
नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका सचिव तथा अन्नपूर्णा पोष्टका प्रदेश -२ का व्यूरो सह ईन्चार्ज राजकरण महतोमाथि प्रहरीले दुर्व्यवहार गरेको छ ।
मंगलबार दिउसो ईलाका प्रहरी कार्यलय गौशालामा कपाली तमसुक सम्बन्धी दुई पक्षबीच भइरहेको छलफलमा दुवै पक्षबीचको विवादले उग्र रुप लिएर कुटाकुटै भएको घटनाको मोवाइलबाट भिडियो र फोटो लिइरहेको अवस्थामा ईप्रकामा कार्यरत प्रहरीले उनको मोबाइल खोसेर गालीगलौज तथा हातपात गर्दै थुन्ने धम्की समेत दिएको बताइएको छ ।
पत्रकार माथि भएको दुर्व्यवहारको अधिकांस घटना क्षमायाचन र क्षतिपूर्तिमा मिल्दा प्रहरीको मानोबल बढ्दै गएको पाइएको छ ।
यसैबिच, सचिव महतोमाथि प्रहरीले गरेको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ महोत्तरीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
घटनालगत्तै नेपाल पत्रकार महासंघ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले एक विज्ञप्ती जारी गर्दै प्रहरी ज्यादतीको तिव्र निन्दा गर्दै सरकार सरकारका मातहतका अन्य निकायलाई आफ्नो व्यवहार तत्काल सुधार गर्न आग्रह गरेका छन् ।
साथै घटनाको यथार्थ बुझ्न महासंघ महोत्तरी शाखाका उपाध्यक्ष हेमकुमारी बरालको संयोजकत्वमा सह–सचिव रामनारायण महतो र धनविर महतो समेत गरी ३ सदस्यीय समिति गठन गरिएको छ ।