बर्दिबास : कोविड-१९ को उपचार गर्दै आएको बर्दिबास अस्पताललाई हेल्भेटास नेपाल संस्थाले १२ लाख मूल्यका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

पिसिआर परीक्षण र कोभिड-१९ सङ्क्रमितको उपचार गर्दै आएको अस्पताललाई आज बिहीबार हेल्भेटास नेपालले पूर्वसतर्कता र उपचारमा सहयोग हुने १२ लाख मूल्य बराबरको सामग्री उपलव्ध गराएको हो । हेल्भेटासका तर्फबाट साझेदार संस्था सामुदायिक बिकास तथा पैरवी मञ्च नेपाल बर्दिबासका अध्यक्ष नागदेव यादवले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा बर्दिबास नगरप्रमुख बिदुरकुमार कार्कीलाई सामग्री हस्तान्तरण गर्नु भएको हो ।

अस्पताललाई प्राप्त सामग्रीमा अक्सिजन कन्सेन्ट्रेटर मसिन-२, नेवुलाइजर मसिन-१०, प्रोटेवल सक्सेन मसिन-२, प्लस अक्सिमिटर-१५, एन-९५ मास्क-५००, पिपिई सेट-२५, सर्जिकल ग्लव्स-५००, भिटिएम ट्युव-५००, एन्टिजेन किट-२५०, एक्सट्रेक्सन किट-३८४ र पिसिआर किट-३८४ छन् । प्राप्त स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीको सुरक्षा, स्वाव सङ्कलन र बिरामीको सघन उपचारमा प्रयोग गरिने सामग्री भएको हुँदा तत्काल नै राहत मिलेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिलकुमार दाहाले बताउनुभयो ।

यसअघि गत वर्ष (२०७७) मै बर्दिबास नगरपालिकाले पिसिआर मसिन खरिद गरेर अस्पतालबाट स्वाव सङ्कलन र परीक्षण सेवा थालेको थियो । गत मङ्सिरयता कोभिड-१९ सङ्क्रमण मत्थर भएपछि स्थगित यो सेवा यसपालि २०७८ प्रारम्भ भएयता वैशाख दोश्रो सातादेखि नै दोहोरिएर सङ्क्रमण बढेपछि गत वैशाख २० गतेदेखि पुनः सेवा थालेको हो ।

अस्पतालले कोभिड-१९ का बिरामी बढ्दै गएपछि लाग्दो जेठ नै कोभिड-१९ अस्पताल र आइसोलेशनकक्ष सञ्चालन गरेको छ । अस्पतालले अक्सिजनसहितको सेवा प्रवाह गरेपछि छिमेकका धनुषा र सर्लाहीबाट बिरामी उपचार लिन आउने गरेका मेसु डा. दाहाले बताउनुभयो ।

bardibas-hospital-nepalvani

२०७८ जेष्ठ १३, बिहीबार १८:५४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय