
महोत्तरी : छिमेकको बस्तीमा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क जग्गा दिने दातालाई महोत्तरीको मटिहानी नगरपालिकाले सम्मान गरेको छ । मटिहानी-१ धिरापुरमा वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क १३ धुर जग्गा दिने मटिहानी-२ का रामचन्द्र ठाकुरलाई नगरप्रमुख हरिप्रसाद मण्डलले आज सोमबार दोसल्ला ओढाएर फुलमाला लगाउँदै सम्मान गर्नु भएको हो ।
ठाकुरले आफु फरक वडाको बासिन्दा भएपनि छिमेकको वडा कार्यालय भवन निर्माणका लागि अहिले चलनचल्तीमा करिब १५ लाख मूल्य बराबरको जग्गा दान गर्नु भएको हो । “ठाउँ नपाएर वडा कार्यालय भवन बन्न नसकेको सुने”ठाकुरले भन्नुभयो, “वडा फरक भएपनि आफ्नै एउटै बस्तीभित्रको हुँदा जग्गा दिएँ ।” मृत्यु अनिवार्य सत्य रहेको र मर्दा सबै खाली हात नै जाने यथार्थ मनन गरेर सामाजिक र जनसरोकारको कार्यालयका लागि जग्गा दिएको ठाकुरको थप भनाइ छ । सामाजिक कार्यमा आफ्नो हैसियतभित्र मन फुकाएर सहयोग गर्नसमेत ठाकुरले सबैसँग अपिल गर्नु भएको छ ।
प्राप्त जग्गामा मटिहानी नगरपालिकाले आजै वडा कार्यालय भवन निर्माणको शुभारम्भ गरेको छ । वडा कार्यालय भवन ५२ लाखको लागत अनुमानमा निर्माण कार्य थालिएको नगर कार्यपालिकाको कार्यालयका प्राविधिक शाखाका प्रमुख इञ्जिनियर विमलेश साहले जानकारी दिनुभयो । निर्माण थालिएको तीन कोठे भवन मुख्य कार्यालयकक्ष, सभाहल, सञ्चारकक्षसहितको आधुनिक सुविधा सम्पन्न हुने साहको भनाइ छ ।
आफुले जग्गा दिनासाथ भवन निर्माणको काम थालिएपछि जग्गादाता ठाकुर खुशीले दङ्ग पर्नु भएको छ । मटिहानी-१ का बासिन्दाले आफ्नो वडा भवन बन्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् । सम्मान र भवन शिलान्यास समारोह मटिहानी-१ का वडाअध्यक्ष शिवशङ्कर रायको अध्यक्षतामा सम्पन्न भएको हो ।