
नेपालवाणी, काठमाडौँ : मनसुन सक्रिय भएसँगै देशभर वर्षा शुरू भएको छ ।
मनसुनी वायुकै प्रभावले आज देशका पाँच वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो र राति प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ । यो क्रम बिहीबारसम्म नै कायम रहने महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
भारी वर्षाको अनुमानसँगै महाशाखाले सतर्कता अपनाउन पनि आह्वान गरेको छ ।
‘देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाका साथै प्रदेश-२, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । File Photo