काठमाडौं : जसपा अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगको निष्पक्षतामाथि प्रश्न उठाएका छन्।

मंगलबार विज्ञप्ति प्रकाशित गर्दै यादवले निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रही देखिएको बताएका छन्।

‘निर्वाचन आयोगजस्तो संवैधानिक निकाय पूर्वाग्रहरहित भई निष्पक्ष र तटस्थ ढंगबाट निर्णय गर्नुपर्नेमा एकपक्षीय हीतअनुरूप निर्वाचन आयागले गरेको निर्णय मान्य हुन सक्दैन र यसले निर्वाचन आयोगको तटस्थता र निष्पक्षतामाथि नै गम्भीर शंका उत्पन्न भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोगले गरेका काम काम कारवाहीविरुद्ध राजनीतिक र कानूनी उपचारका लाग लडाईं जारी रहनेछ।’

१७ जेठको जसपा केन्द्रीय कार्यकारिणी समितिको बहुमतबाट महन्थ ठाकुर, राजेन्द्र महतोसहितका चारजना नेतालाई पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा बर्खास्त गर्ने निर्णय गरेको थियो। त्यसको प्रतिलिपीसहित जसपाले आयोगमा दिएको निवेदन ३० जेठमा आयोगले अस्वीकृत गरेको थियो।

आयोगको उक्त निर्णयलाई यादवले पूर्वाग्रहपूर्ण रहेको बताएका छन्। ‘आयोगको निर्णयले राजनीतिक दलसम्बन्धी ऐन, २०७३, नियमावली २०७४ र जसपाको विधान, २०७७ लाई आफ्नो सुविधाअनुरूप बंग्याई अपव्याख्या गरी पार्टी विधानविपरीत काम गर्ने, दलको आचारसंहिता पालना नगर्ने, अराजक एवं अनुशासनहीन पदाधिकारी र कार्यकारिणी समिति सदस्यलाई परोक्ष रूपले वैधानिकता दिन खोजिएकोजस्तो देखिन्छ, जुन कार्यविधिसम्मत देखिँदैन,’ यादवले भनेका छन्।


२०७८ असार १, मंगलवार १३:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु