जनकपुरधाम : हुलाकी सडक अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीको पुल झण्डै १० वर्षपछि निर्माण लगभग पुरा भएको छ । दुई साताभित्रै पुल निर्माण सकिने ठेकेदार कम्पनी लुम्बनी बिल्डर्सका इन्जिनियर सुर्यप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार पुल निर्माणको ९९ प्रतिशत काम पुरा भइसकेको छ । अब फिनिसिङ गर्न मात्र बाँकी छ ।

सो काम पनि तिब्र गतिमा भइरहेको छ । अब बढीमा १५ दिनभित्रै निर्माण कार्य पुरा हुन्छ । तटबन्ध निर्माण गरेर नदीको बहाब पनि परिवर्तन गरिसकेको उनको भनाई छ । ४७० मिटर पुल निर्माणका लागि २०६८ सालमै पप्पु–लुम्बिनी बिल्डर्सले ठेक्का सम्झौता गरेको थियो । तर ७ वर्षमा वित्दा पनि ढिलोसुस्तीका कारण ३५ प्रतिशत मात्र काम भयो । पछि पप्पु कन्ट्रक्सनले हात झिक्यो । अनी निर्माणको पूर्ण जिम्मेवारी लुम्बिनी बिल्डर्सको काँधमा गयो । लुम्बिनी बिल्डर्सका इन्जिनियर शर्मा भन्छन्, ‘सुरुमा काम गरेन ।

पछि महँगी बढ्यो । अनी घाटा लाग्छ भनेर पप्पुले काम गर्न छाडे । बाध्य भएर हामीले काम गर्नुपरेको छ ।’ उनले पुल निर्माण पुरा भएलगत्तै सम्बन्धित निकायको हस्तान्तरण गर्ने बताए । ११ मिटर चौडाई रहेको कमला पुल १२ एस्पानको छ । नदीको दुबैतीर तटबन्ध बनाएर बहाब पुलभित्र छिराएको छ । तर हरेक वर्ष ठूलो बाढी आउने भएकाले तटबन्ध मजबुत बनाउनुपर्ने स्थानीय बताउँछन् ।

अहिले बनाएको तटबन्ध बाढी थाम्न सक्ने नभएको स्थानीयको भनाई छ । दुई दिनअगाडी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले निर्माणाधिन पुलको निरीक्षण गरे । उनले तटबन्ध मजबुत बनाउनका लागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । उनले पुल निर्माण भएपछि यस भेगका जनतालाई ठूलो राहत हुने पनि बताए । कमलामा पुल नहुँदा सिरहा र धनुषाका लाखौं मानिस प्रत्यक्ष प्रभावित हुँदै आएको थियो ।

पुल निर्माण भएपछि अब सिरहा सदरमुकामाट मोटरसाइकल वा चारपाङ्ग्रे सवारी करिब ३० मिनेटमै जनकपुरधाम आइपुग्छ । तर पुल नहुँदा पूर्वपश्चिम राजमार्ग घुमेर आउनुपर्दा समय र सवारी भाडा पनि बढी खर्च गर्नुपर्ने सर्वसधारणको बाध्यता थियो । दृश्य : सन्तोष यादव

२०७८ असार ७, सोमबार १०:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय