काठमाडाैं : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई कुनै पनि हालतमा दुर्घटनामा जान नदिने दृढता व्यक्त गरेका छन्।

माओवादी केन्द्रकी नेतृ तथा पूर्वउपसभामुख पूर्णकुमारी सुवेदीका पिता हरिप्रसाद पौडेलको श्रद्धाञ्जली सभालाई चितवनमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

सो अवसरमा बोल्दै उनले समृद्ध नेपाल र नेपाली जनताको मजबुत एकताका लागि आफू लडिरहने बताए।

‘तपाईंहरु सबै सचेत हुनुहुन्छ। संविधान दुर्घटना हुन पनि दिदैनौँ । धेरै नपाली जनता सचेत रहेकाले र राजनीतिक दलभित्र पनि नेता कार्यकर्ता राष्ट्र प्रतिको जिम्मेवारी भएकाले दुर्घटनामा देश जानै दिइँदैन।’ उनले भने, ‘गणतन्त्र लोकतन्त्र पनि बच्छ र राष्ट्रियता माथि लाग्न खोजेको कालो बादल पनि चाँडै हट्छ ।’

देशको समसामयिक राजनितिक अवस्था बारे चर्चा गर्दै उनले अहिले राजनीतिको आकाशमा देखिएको कालो बादल अन्त्य गरेर कुनैपनि राजनीतिक दुर्घटना हुन नदिई देशलाई जोगाउन आफूहरु क्रियाशील रहेको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले नेपाली जनताको वलिदानीपूर्ण संघर्ष, मधेस आन्दोलन र बृहत जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्टाउन वर्तमान सरकार लागिपरेकोले यसलाई जसरी पनि रोकेर संविधान ट्रयाकमा ल्याई देशलाई अगाडी बढाउने बताए।

आफुले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न प्रस्ताव सहित एमालेसँग पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले त्यसलाई चकनाचुर पारेको बताए। प्रधानमन्त्री ओलीको तानाशाही शैली अब देशले धान्नै नसक्ने बताउँदै उनले छिट्टै देशले निकास पाउने विश्वास समेत व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले स्वर्गीय हरिप्रसाद पण्डितले कम्युनिस्ट आन्दोलनलाई ठुलो योगदान दिएको भन्दै पौडेल प्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका थिए।

पौडेलको ९० बर्षको उमेरमा असार २ गते निधन भएको थियो ।

सोमबार साँझ चितवन पुगेका अध्यक्ष प्रचण्डले मंगलबार बिहान आफ्नो निर्वाचन क्षेत्रमा केही दिन अघिको अविरल बर्षाले निम्त्याएको बाढीले डुबानमा परेको वडा नं. २६ को सिसई लगायतका क्षेत्रको अनुगमन गरेका थिए। उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।


२०७८ असार ८, मंगलवार १५:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु