बर्दिबास : : महोत्तरीको बर्दिबासमा विपन्न बिरामीको उपचार सेवा सहज बनाउने उद्देश्यले कोष नै सञ्चालन गरिने भएको छ । नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाको आज मङ्गलबार सम्पन्न कार्य समितिको बैठकले ने.रे.सो. विपन्न रक्त सहायता कोष सञ्चालन गर्ने निणर्य गर्दै सोसम्वन्धी कार्यविधि पारित गरेको हो ।

पारित ने.रे.सो. विपन्न रक्त सहायता कोष-२०७८ को कार्यविधिमा क्यान्सरका बिरामी, मिर्गौला डायलसिस गरिरहेका बिरामी, यौन उत्पिडनमा परी उपचाररत बिरामी र अस्पतालमा उपचाररत बेवारिस बिरामीलाई उपचारमा रगतको अभाव हुन नदिन कोष स्थापना गरिएको उल्लेख छ । विपन्न वर्गको कोष सञ्चालन समितिले गर्ने सिफारिसअनुसार आवश्यक रगत उपलव्ध गराइने नीति बनाइएको रेडक्रस बर्दिबास उपशाखाका सभापति मुकुन्द पौडेलले जानकारी दिनुभयो । खासमा रेडक्रस रक्त सञ्चार केन्द्रमा लाग्ने सेवा शुल्कमा यस मापदण्डका बिरामीले छुट पाउने व्यवस्था गरिएको पौडेलको भनाइ छ ।

यो कोषको सञ्चालनका लागि स्थानीय सामाजिक सङ्घसंस्थाको प्रतिनिधित्व रहने सञ्चालक समिति रहने प्रावधान छ । कोष स्थापनाका लागि प्रारम्भमै बर्दिबास हेल्प फाउण्डेशनले ५१ हजार नगदको चेक उपशाखालाई प्राप्त भइसकेको जनाइएको छ । कोषका लागि बिभिन्न दाताहरुले दिएका रकम एकलाख ५० हजार नाघेको कोष सञ्चालक समितिका संयोजक रेवन्त कार्की ‘सुदीप’ ले जानकारी दिनुभयो । प्रारम्भमा पाँच लाखको अक्षय कोषबाट काम थालिने जनाइएको छ । यो परोपकारी कार्यमा मन खोलेर सहयोग गर्न सबैसँग अपिल गरिएको ‘सुदीप’को भनाइ छ ।

रेडक्रस बर्दिबास उपशाखाको आज सम्पन्न ३२ औं बैठकले वर्षायाममा पर्नसक्ने विपद्को पूर्वतयारीका लागि अति विपन्न र आपद्मा परेका / पर्ने ४० परिवारलाई तत्काल राहत पुर्‍याउन सकिने गरी प्रारम्भिक तयारी गर्ने निणर्य गरेको सभापति पौडेलले बताउनुभयो । रेडक्रस बर्दिबास उपशाखाले लिएको यो पहलकदमीको बर्दिबास क्षेत्रका सर्वसाधारणले सराहना गरेका छन् ।

२०७८ असार ८, मंगलवार २१:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय