
काठमाडौँ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा अझै थपिने भएको छ ।
कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको काठमाडौँको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।
‘आज कोभिडको तथ्यांक कस्तो आउँछ, त्यसलाई विश्लेषण गर्दै अपराह्न ४ बजेपछि निषेधाज्ञाबारे थप निर्णय गर्नेछौँ,’ प्रजिअ पराजुलीले खबरहबसँग भने । उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा सोमबार राति १२ बजे सकिँदैछ ।
जारी निषेधाज्ञामा समय तोकेर सबै किसिमका पसलहरु खोल्न दिइएको छ । मोटरसाइकल, जीप, कार, भ्यान, ट्याक्सीलगायतमा जोर–बिजोर लागु गरिएको छ । पठाओ र टुटल सेवा पनि सञ्चालनमा आइसकेको छ ।
सार्वजनिक सवारी–साधन, विद्यालय, मठ–मन्दिर, पार्टी प्यालेसलगायतमा प्रतिबन्ध कायमै छ । संक्रमण अझै घटेको अवस्थामा सार्वजनिक यातायात पनि जोरविजोरको आधारमा चल्ने दिने प्रजिअ पराजुलीले बताए ।
काठमाडौं उपत्यकामा वैशाख १६ गते निषेधाज्ञा शुरू हुँदा काठमाडौँ उपत्यकामा नै दैनिक ३ हजारभन्दा बढीमा संक्रमण पुष्टि हुँदै आएकोमा यो संख्या अहिले ५ सय हाराहारीमा छ ।
संक्रमण घट्दै जाँदा सरकारले उडान पनि खुलाउने निर्णय गरिसकेको छ ।