काठमाडौं : प्रहरी हिरासतमा रहेकी कथित अभियन्ता ज्वाला (टिका) संग्रौलाले सरकारी कागजात कीर्ते गरेको खुलेको छ । यसमा प्रहरीले अनुसन्धान अघि बढाएको छ । ट्राफिक प्रहरीलाई मधेसी भनेर रंगभेदी टिप्पणी तथा कुटपिट आरोपमा पक्राउ परेकी ज्वालाको अर्को काण्ड बाहिर आएको हो ।

ज्वालाले पाँचथरको हिलिहाङ गाउँपालिकाबाट लिएको अविवाहिताको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र नक्कली भएको खुलेको छ । हिलिहाङ गाउँपालिका वडा-५ को कार्यालयले कीर्ते गरेर कागजात बनाएको प्रहरीलाई जानकारी गराएको छ ।

वडाअध्यक्ष लक्ष्मीप्रसाद सुहाङले ज्वालाले लिएको किर्ते गरेर लिएको बताए । ‘उनले हुँदै नभएको सचिवको हस्ताक्षर सहितको सिफारिस लिएको देखिएको छ । स्थानीय पञ्जिकाधिकारी श्यामबाबु रावल भन्ने नामको विवरण रहेछ’, उनले भने, ‘हाम्रोमा त्यो नामको सचिव अहिलेसम्म नै छैन ।’

ज्वालाले २०७४ असार ५ गते साविक सुभाङ गाविसको कार्यालयको लेटरप्याड प्रयोग गरेर अविवाहितको प्रमाणित सिफारिस र जन्मदर्ताको प्रमाणपत्र लिएकी थिइन् । जबकि २०७३ चैत ३ गतेदेखि नै संघीय संरचना लागू हुँदै साविक सुभाङ गाविसका वडा नम्बर एकदेखि वडा नम्बर ७ सम्मका सबै वडा हिलिहाङ गाउँपालिकाको वडा नम्बर ५ मा गाभिएका छन् । ज्वालाले हाल अस्तित्वमा नै नरहेको गाविस र हुँदै नभएको वडासचिवको हस्ताक्षरसहितको विवरण बनाएको देखिएको वडा सचिव नारायण प्रसाद ओझाले जानकारी दिए ।

सामाजिक अभियन्ताका रूपमा चिनिएकी ज्वालाले विदेशबाट पैसा उठाउँदै नेपालमा सहयोग गर्दै आएकी थिइन् । केही वर्ष जापान बसेर नेपाल फर्किएकी उनी नेपालमा पनि विभिन्न अभियानसँग जोडिएकी छन् ।

युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै ज्वालाविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । महानगरीय वृत्त गौशालामा नै आफूमाथि कुटपिट भएको भन्दै घिमिरेले महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी हुन् । उजुरीपछि प्रहरीले असार ६ गते ज्वालासहित तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ज्वालामाथि प्रहरीले अभद्र व्यवहार मुद्दामा छानबिन गरिरहेको छ ।


२०७८ असार १७, बिहीबार २१:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय