
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले आज प्रदेश १ मा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मौसम सम्बन्धी बुलेटिन जारी गर्दै प्रदेश १ का केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाएको हो।
मनसुनी वायुको प्रभाव र दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकाले आज बिहान प्रदेश २ र बाग्मती प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशमा सामान्य रहने जनाएको छ। प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बांकी भूभागहरूको मौसम बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
आज राति पनि देशका अधिकांश भू–भागहरूमा मौसम बदली रही प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आकलन गरेको छ।