monday-sombar-shiv-darshan-saaun-shrawan-saun

काठमाडौं : आज साउनको पहिलो सोमबार । आजको दिन हिन्दु धर्म मान्नेहरुले शिव मन्दिरमा गई पूजाआजा गर्ने चलन छ ।

यस पटक भने कोरोना महामारीका कारण धेरै भीडभाड हुने ठाउँहरु बन्द भएकाले मन्दिरहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । कोरोना महामारीका कारण पशुपतिनाथ मन्दिर पनि सर्वसाधारणका लागि खुला गरिएको छैन ।

त्यसैले आज धेरै भक्तजनहरुले बाहिरैबाट पशुपतिनाथको दर्शन गरिरहेका छन् । कोरोनाका कारण शिव मन्दिरहरुमा विगतमा जस्तो भीडभाड भने छैन । हिन्दु परम्परा अनुसार साउन महिना शिवको प्रिय महिना हो ।

हिन्दु महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गर्दछन् । साउने सोमबारका दिन निराहार ब्रत बसी शिवजीको पूजा अराधना गर्दा मनोकांक्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।

साउने सोमबारमा शिवजीको पूजा उपासना गर्नाले आफू र आफ्नो परिवारको सुस्वास्थ्य, दीर्घायु र घर परिवारमा सुख शान्ति छाउने धार्मिक विश्वास छ ।

हिन्दु धर्मग्रन्थ अनुसार भगवान शिवलाई सोमबारको स्वामी भनिन्छ । त्यसैले यो दिनलाई विशेष दिनका रुपमा लिइन्छ । साउने सोमबारको दिन मनोकामना पूरा हुने विश्वासका साथ भगवान शिवलाई जल र बेलपत्र चढाँउने गरिन्छ । हिन्दू धर्ममा साउनलाई धर्मकर्मको महिना भनिन्छ ।

व्रत महिमा

पुराणहरूमा मुख्य तीनथरि व्रतको चर्चा पाइन्छ । ती हुन्— साउने सोमबार, सोर्‍ह सोमबार एवं सोम प्रदोष । सोमबारको व्रत विधि पनि अन्य व्रतजस्तै हुन्छ । यो व्रत सूर्योदयदेखि प्रारम्भ भएर तेस्रो प्रहरसम्म बसिन्छ ।

दिनको तेस्रो प्रहर अर्थात् करिब तीन बजेतिर शिवजीको पूजा गरी कथा सुन्नुपर्छ । व्रत गरेको दिन बेलुका एकपटक सात्विक भोजन गर्नुपर्छ । यसरी व्रत बस्दा समस्या समाधान हुने जनविश्वास छ ।

शास्त्रअनुसार भगवान् शिवले सनतकुमारहरूलाई साउन महिनाको महिमा बताउने क्रममा भनेका छन्– मेरा तीन आँखामध्ये दाहिने आँखा सूर्य, बायाँ आँखा चन्द्रमा तथा बीचको आँखा अग्नि हुन् ।

गत वर्षरुमा साउने सोमबारका दिन काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी महादेव, धरानको पिण्डेश्वर महादेव लगायत देशभरका शिवालयहरुमा भक्तजनको घुँइचो लाग्ने गरेको थियो । तर यसवर्ष भने केही शिवालयहरु बन्दछन् भने खुलेका मन्दिरहरुमा पनि भक्तजनको उपस्थिति न्यून छ । File Photo

२०७८ श्रावण ४, सोमबार ०८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय