
अजयकुमार झा,
सप्तरी : छिन्नमस्ता सखडेश्वरी भगवती विषयक समाचार वा लेखको नियमित प्रकाशन सामान्य विषय हो । किनभने यस मन्दिरको समाचार वा लेखको प्रकाशन प्रायः भइरहेकै हुन्छ । तर हालै (२०७८ साल साउन १७ गते) को आभूषण चोरी घटनाले भने मास र मिडियामा धेरै ठूलो चर्चा पाएको देखियो । माताको आभूषण चोरीप्रतिको चासो र गाम्भीर्यले सबैलाई राम्रै गरी झक्झकायो ।
सखडा मन्दिरमा विशेष अवसरहरूमा हुने भीडभाडको समयमा भक्तजन दर्शनार्थीको गहना, पैसा आदि चोरीका घटना पहिल्यै पनि हुने गरेका हुन् । कसैको माल भेटिने कसैको नभेटिने हुन्छ ।
मन्दिर व्यवस्थापन समितिदेखि लिएर नजिकै प्रहरी थाना भएर पनि त्यस्ता चोरीका लागि कोही पनि जवाफदेही हुँदैनन् । तर स्वयं माताकै आभूषणको चोरी आफैंमा एक विशेष घटना थियो । यस कुराको मास र मिडियामा जे-जति चर्चा भयो, त्यो अस्वाभाविक थिएन र मन्दिर व्यवस्थापनदेखि लिएर प्रहरीसम्म सबै यस घटनामा जवाफदेही पनि देखिए ।
सखडा मन्दिर करोडौं मानिसको ज्ञान, स्मृति र चासोको विषय हो, यहाँको प्रत्येक विशेष घटनाबाट उनीहरू प्रभावित हुन्छन् । जसरी आभूषण चोरीको घटनाले सबैलाई झक्झकायो, त्यसैगरी चोरिएको आभूषण अत्यन्त छोटो समयमा फेला परेको घटनाले पनि सबैलाई हर्षित तुल्याएको थियो । कसैले यसलाई प्रहरीको सक्रियता भने भने कसैले माताको लीला । तर घटना समग्रमा निकै रोमाञ्चक रहृयो ।
आजभोलि कुनै घटना घटित हुँदा त्यसको जानकारी पाउन रेडियो, टिभी, पत्रिकाको समय कुर्नु पर्दैन । किनभने हातहातमा हुने मोबाइल र इन्टरनेटको योगमा हरबखत चालू रहने सामाजिक सञ्जालको कारणले घटना हुनासाथै विभिन्न सामाजिक सञ्जालमा भाइरल हुन थाल्छ । मानिसहरूले प्रतिक्रिया थप्दै सेयर गर्न थाल्छन् र जानकारी एक कान दुई कान मैदान हुन पुग्छ ।
आभूषण चोरीपछि सामाजिक सञ्जालमा देखा परेका टिप्पणीहरूमा मन्दिरमा माताको आभूषण चोरीप्रति सबैले आश्चर्य र क्षोभ व्यक्त गरेका थिए । चोरलाई त तथानाम भनेकै थिए तर कतिपयले चोरीमा पण्डा र पुजारीको मिलिभगत रहेको र प्रहरीको उपस्थिति अर्थहीन भएको पनि बताएका थिए ।
तर चोरी घटनाले दिनरात नाघ्न नपाउँदै चोरीको सामान चोरसहित फेला पर्नुले पछि त्यही सामाजिक सञ्जालमा प्रहरीको पनि वाह्वाही भयो र पण्डा-पुजारीहरू पनि चोरीमा मिलिभगतको आरोपबाट मुक्त भए । त्यस अतिरिक्त माताको शक्ति, लीला र चमत्कारको पनि सबैले गुणगान गर्न थाले ।
मन्दिरमा चोरी भएको वस्तुलाई धेरैले माताको मुकुट भनेका छन् । तर त्यो वस्तु मुकुट होइन । मुखौटा (मास्क) हो । मुकुटजडित मुखौटा भने भन्न सकिन्छ । सखडाको मूल देवी महिषासुरमर्दिनी हुन् । उनलाई छिन्नमस्ता पनि भनिन्छ । तर छिन्नमस्ता भनिनुको पछाडिको रहस्य के हो भने देवी प्रतिमा मस्तकविहीन छ । विदेशी विधर्मी आततायी कुनै लुटेराले कुनै समयमा हिन्दू मन्दिर ध्वस्त गर्दै लुटपाट मच्चाउँदै जाने क्रममा सखडा मन्दिरमाथि पनि आक्रमण गरेका थिए ।
तोडफोडको क्रममा देवी प्रतिमाको मस्तक खण्डित भयो । पोखरीबाट पछि प्रतिमा फेला परे पनि मस्तक फेला परेन । इतिहासका यी पक्षहरूको खुलस्त वर्णन पटक-पटक लेखिएका छन् र सबैलाई थाहा भएकैले यहाँ यस आलेखमा त्यसको पुनरोक्ति गर्नु आवश्यक ठानिएन ।
कालान्तरमा ती विधर्मी आततायीको सत्यानाश त भयो तर सखडेश्वरी देवीको पूर्ण कदको प्रतिमा भने पूर्व स्थितिमा आउन सकेन । देवीको मस्तकविहीन प्रतिमालाई छिन्नमस्ता महाविद्याको स्वरूप ठानी त्यसै नामले पुकारिन थालियो । पछि इतिहासकारहरूले अनुसन्धान गर्दा सखडाकी देवी शास्त्रोक्त स्वरूपको आधारमा महिषमर्दिनी रहेको तर मस्तक नभएकाले छिन्नमस्ता भनिएको निष्कर्षमा पुगे ।
भनिन्छ, सखडा मन्दिरको स्रोतका लागि बिघौं जग्गादान गर्ने स्थानीय परिवारका एक महिलाले भाकल पूरा भएपछि धड उपरको शिरको रूपमा चाँदीको मुखौटा बनाउन लगाई अर्पित गरे । त्यहाँदेखि भक्तजन दर्शनार्थीहरूले त्यसैको दर्शन गर्दै आएका छन् । त्यसैले चोरी भई फेला परेको माताको उक्त आभूषण मुकुट त होइन तर मुकुटजडित मुखौटा हो ।
सनातन धर्मका स्रोत वेद, उपनिषद्, पुराणादिमा देवीको ब्रहृमाण्डीय चरित्र, सिद्धान्त, स्वरूप र मानवीकरणको बृहत् चर्चा छ । यी ग्रन्थहरूमा देवीलाई निराकारदेखि लिएर सर्वस्वरूपासम्म भनिएको छ । देवी-देवताको मानवीकरणका कारण हाम्रो मानसपटलमा देवीको अनेक रूप बन्दछ तर वास्तवमा देवीको कुनै निश्चित रूप छैन र छ भने यस ब्रहृमाण्डमा जे जति पनि चेतना, पदार्थ र छायाँको स्वरूप बन्न सक्दछ, ती सबै देवीकै रूप हुन् ।
त्यसैले देवीका उपासक देवीको अनगिन्ती स्वरूपको भ्रममा नपरी दिव्य चेतनाको आराधना गर्दछन् । तर देवीको आराधनाका लागि मूर्ति स्वरूपको पनि उत्तिकै महत्व छ । भक्तजन मूर्ति स्वरूपकै आराधना गरेर आफ्नो अभीष्ट प्राप्त गर्दछन् ।
त्यसैले सखडा मन्दिरमा रहेकी देवी मस्तकविहीन वा मुखौटाजडित जे जुन रूपमा छिन् वा भए पनि ती सबै देवीका भौतिक प्रति(मा) मात्र हुन् र उपासक वा भक्तजन जब देवीको स्मृतिमा प्रविष्ट हुन्छन् त्यहाँ भौतिक स्वरूप विलुप्त भएर जान्छ र दिव्यता र प्रार्थनाको भाव मात्र शेष रहन्छ ।
सखडा भगवतीको स्थापना, पूजा अर्चना, संरचनात्मक व्यवस्था, भौतिक सुविधादिको आफ्नै इतिहास छ, जसको पुनरोक्ति यहाँ आवश्यक छैन । तर वर्तमान मन्दिरमा मूल देवीको जुन स्वरूप छ, त्यो महिषासुरमर्दिनीको स्वरूप हो, जसको चर्चा हुनु आवश्यक छ र यहाँ चर्चा गर्न उत्सुक पनि भएको हुँ । यस वर्षको शारदीय नवरात्र -दशैं) निकट आउन लागेको छ ।
आउँदो असोज २१ गते घटस्थापना परेको छ । नेपाल र भारतमा नवरात्र उत्साह र उमंगका साथ मनाइन्छ र देवीको विशेष प्रकारले पूजाअर्चना गरिन्छ । देवीले अनेक असुरको वध गरी लोककल्याणको कार्य गर्नुभएको स्मृतिमा शारदीय नवरात्र समर्पित छ । ती असुरहरूमध्ये एक महिषासुर पनि थिए । महिषासुरलाई मूर्खताको प्रतीक मानिन्छ । महिषासुर, जसको शरीर महिष (भैंसी) स्वरूपको छ ।
सनातन संस्कृतिमा मानवतन्त्र र पृथ्वी, चन्द्रमा, सूर्यादि तथा चैतन्यबीच अलग-अलग आयामका साथ उनीहरूको सम्बन्धको गहन अध्ययन गरियो र त्यही अध्ययनको जगमाथि सनातन संस्कृति खडा भएको छ । देवी र महिषासुरको प्रतीक यही दर्शाउँछ कि देवी आफ्नो सम्पूर्ण शक्तिका साथ प्रस्तुत हुन्छिन् र उनको सामुन्ने पाशविकताले घुँडा टेक्नु पर्दछ । देवी, जो प्रकृतिको स्त्रैण स्वरूपको प्रतिनिधित्व गर्दछिन्, नवरात्र त्यसैसँग जोडिएको चाड हो ।
सखडा मन्दिर तिरहुत राज्य र राजा शक्र सिंहसँग सम्बन्धित छ । सखडा मन्दिरको संस्थापन, पतन र उत्थानको इतिहास र त्यससँग जोडिएको मानवीय समुदायको अवस्था पनि अनुसन्धानको विषय हो
नवरात्रको अर्थ हो- नौ रात । यी नौ रातको गणना अमावश्याको ठीक अर्को दिनबाट शुरू हुन्छ । चन्द्र क्यालेण्डरको पहिलो नौ दिन स्त्रैण प्रकृतिको मानिन्छ । नवौं दिनलाई महानवमीको रूपमा मनाइन्छ ।
पूणिर्माको समयका डेढ दिन निष्पक्ष मानिन्छ । बाँकी अठार दिन प्रकृतिगत रूपमा पुरुष प्रकृतिको मानिन्छ । महीनाको यो स्त्रैण पक्ष देवीसँग जोडिएको हुन्छ । त्यसैले परम्परागत रूपमा नवमी तिथिसम्ममा सबै पूजा-अर्चना देवीलाई समर्पित गरिन्छ ।
यस प्रकार वर्षको बाह्रै महीना नवरात्र आउँछ, जो देवीको विभिन्न पक्षमाथि केन्द्रित रहेको हुन्छ । वर्तमान नवरात्र सबैभन्दा महत्वपूर्ण मानिन्छ । किनभने यो ज्ञानकी देवी शारदालाई समर्पित हुन्छ । त्यसैले यहाँ देवीद्वारा अज्ञानता (मूर्खता) को समाप्ति अर्थात् महिषासुरको वध प्रासंगिक छ । महिषासुर, जसलाई पारम्परिक रूपमा आधा मनुष्य र आधा महिष (भैंसी) को रूपमा देखाइन्छ, त्यो मनुष्यको पाशविक प्रकृतिको प्रतीक हो ।
यस परम्परामा अज्ञानताको नाशमाथि जोड दिइन्छ । जीवहरू मानिसभन्दा ठूला आकारका पनि छन्, उनीहरू मानिसभन्दा तीव्र गतिमा भाग्न सक्छन्, मानिसभन्दा बढी शक्तिशाली हुन सक्छन् । उनीहरूले त्यस्तो धेरै कुरा गर्न सक्दछन्, जो मानिसले गर्न सक्दैन । तर उनीहरू पनि मानिसले जस्तो अज्ञानताबाट मुक्त हुन सक्दैनन् । यसका अतिरिक्त एक अर्को पक्ष पनि छ, जो मानिसलाई अन्य जीवभन्दा पृथक् देखाउँछ, जसलाई देवीद्वारा महिषासुर वध अध्यायमा राम्ररी दर्शाइएको छ ।
मानवतन्त्रको विकासको प्रक्रियामा मनुष्य अमिबादेखि जति किसिमका जीवहरूको यात्रा गर्दै आज यस स्थितिमा पुगेको हो, ती सबै जीवहरूको गुण मनुष्यमा आज पनि विद्यमान छ । भौतिक विज्ञानले पनि मान्दछ कि मनुष्यको मस्तिष्कको एक भाग सरीसृप -घिसि्रने जीव) को जस्तो छ । सरीसृपको जस्तो मस्तिष्क, मानवीय विकासको त्यो चरणलाई दर्शाउँछ, जो आज पनि प्रवृत्तिको रूपमा मानिसभित्र छ ।
मनुष्य जब चार खुट्टाबाट दुई खुट्टामा हिंड्न शुरु गर्यो, तब मेरुदण्डको हाड मास्तिर उठेर सरीसृपको दिमागमाथि सेरेब्रल कोर्टेक्सको निर्माण गर्यो । यसैले मानिसलाई पशुताबाट उन्मुक्ति दियो । यही सेरेब्रल कोर्टेक्सले मानिसलाई अस्तित्वको सार्वभौमिकताको बारेमा सोच्न सक्षम बनायो । सरीसृपको दिमाग अस्तित्वको रक्षासम्म सजग रहन्छ । तर सेरेब्रल कोर्टेक्सले मानिसलाई जीवनमा अझै बढी समग्रताको सोच प्रदान गर्दछ । यस प्रतीकको एक अर्को पक्ष यो हो कि पौरुष प्रकृति एक्लो हुँदा प्रवृत्तिगत रूपमा अर्थात् पुरुषैण पक्ष सक्रिय रहन्छ र जब स्त्रैण तत्वसँग उसको द्वन्द्व हुन्छ, तब उसमा विद्यमान पुरुषैण वा पाशविक पक्षको अन्त्य हुन्छ । महिषासुर-देवी द्वन्द्वको मूल भावार्थ यही हो ।
मुखौटा चोरी र देवी-असुर द्वन्द्वबीच केही सम्बन्ध छ कि ? अवश्य पनि छ । पशुमा स्वार्थमा प्रवृत्त हुने गुण हुन्छ तर मनुष्य परमार्थतर्फ पनि प्रवृत्त हुन्छ । निजत्वमा कैद हुनु सरीसृपीय चिन्तन हो, समग्रतामा फिजिनु मानवीय चिन्तन हो । मन्दिरमा कसैले दान दिन खोज्दछ, कसैले अरूले दान दिएको वस्तु चोर्न खोज्दछ । यी दुईबीचका अन्तर नै पशुता र मानवताबीचको अन्तर ज्ञान हो, जो देवी-महिषासुर संग्रामको माध्यमबाट मनुष्यले ग्रहण गर्दछ ।
मानिसको चिन्तन, विचार, आचरण र कार्यशैलीमा अनेक त्यस्ता प्रवृत्तिहरू मुखरित हुन्छन्, जसलाई आसुरी प्रवृत्तिको प्रतीक मान्न सकिन्छ । अल्पज्ञान र अहंकार आसुरी प्रवृत्ति नै हो । भ्रष्टाचार पनि आसुरी प्रवृत्ति नै हो । असुर शब्द प्रथमतः ऋग्वेदबाट नै आएको देखिन्छ । शतपथ ब्राहृमणको मान्यता छ कि असुर देवदृष्टिबाट अपभ्रष्ट भाषाको प्रयोग गर्दछ । पुराण साहित्यमा असुर एक स्वरले दैत्यकै वाचक मानिएको छ ।
पौराणिक आख्यानहरूमा महाबलशाली असुरहरूको नाममा अंधक, बाणासुर, भस्मासुर, बकासुर, चन्दा, धेनुक, दूषण, हिरण्यकश्यपु, हिरण्याक्ष, होलिका, जालन्धर, कैटभ, काकासुर, कालनेमि, करिन्द्रासुर, महाबली, महिषासुर, मयासुर, मुकासुर, मुन्द, शुम्भ, निशुम्भ, नरकासुर, राहु, रक्तबीज, संबर, शुक्र -असुरका गुरु), सुन्ड, स्वरभानु, शितासुर, सुमाली, तारकासुर, त्रिपुरासुर, उपसुन्द, वृषपर्व, वृत्रासुर आदि देखिन्छन् ।
ती सबै असुरहरूको इतिहास, काल, चरित्र, प्रवृत्ति, अन्त्यका कारण आदि फरक फरक छन् । तर ती सबै असुर मुखरित हुनु र देवताद्वारा समाप्त पारिनुको अर्थ एउटै यो हो कि मानिसभित्र असुरको रूपमा रहने अज्ञान, लोभ, मोह, काम, क्रोध, मद, अहंकारादिको अन्त्य आवश्यक छ । र त्यसैले नवरात्र स्वयंमा आसुरी प्रवृत्ति विरुद्ध संघर्षको प्रेरणा दिने सांस्कृतिक पर्वको रूपमा सदासर्वदा चिरस्थायी छ ।
अर्को के पनि सत्य हो भने आसुरी प्रवृत्तिबाट मुक्तिको मार्ग अरूले खुल्ला गरी दिने होइन, मानिस आफैंले आफ्नो मार्ग प्रशस्त गर्नुपर्ने हुन्छ । उपदेश सुन्दैमा मुक्तिको ढोका खुल्ने होइन, अपितु तत्वबोध र निरन्तर अभ्यासबाट मात्र सम्भव हुन्छ । सुर र असुरजन्य प्रवृत्ति मानिसको सामान्य व्यवस्था हो ।
मानिसमा एकखाले प्रवृत्ति धेरै बढी र अर्को खाले प्रवृत्ति धेरै कम छ भने जुन खाले प्रवृत्ति बढी छ, त्यो त्यसै नाम, रूप र चरित्रबाट चिनिन थाल्छ । त्यसै कारण वा आधारमा समाजमा मानिसको कित्ता पनि छुट्टनि थाल्छ । त्यसैले समाजमा कोही चोर भनेर त कोही साधु भनेर चिनिन थाल्छ । चोरलाई सदाचारीको रूपमा सार्वभौम रूपमा रूपान्तरित गर्न सकिन्न । त्यसैले समाजमा सम्पत्ति नचोरियोस् भनेर सुरक्षा प्रबन्ध गरिने चलन छ ।
मन्दिरभित्र सम्पत्ति छ भने, मन्दिर भनेर चोर पस्दैन भन्न सकिन्न । उसको आसुरी प्रवृत्तिले उसलाई त्यस्तो चिन्तनमा प्रविष्ट गर्न दिंदैन । यसर्थ मन्दिरमा पनि चोर नपसुन् भनेर सुरक्षा प्रबन्ध गर्नु आवश्यक हुन्छ । सखडामा चोरी हुँदा १४ घन्टाभित्रै प्रहरीले माल बरामद गर्यो तर यही कुरा भने राजविराजका धेरै मन्दिरमा पटक-पटक भइरहेका चोरीको क्रमलाई प्रहरीले रोक्न सकेको छैन । सखडा जस्तो अत्यन्त व्यवस्थित मन्दिरमा, जहाँ सुरक्षाको त्यति प्रबन्ध मिलाइएको छ, त्यहाँ त चोरले हात साफ गर्न पछि परेन भने अन्य मन्दिरहरूको के कुरा गर्ने !
छिन्नमस्ता सखडेश्वरी भगवती मन्दिर पालिका, जिल्ला, प्रदेश र देशकै आइकन हो । यस मन्दिरले ७०० वर्षको इतिहास बोकेको छ । यो ७०० वर्षको इतिहासमा देश र मधेश जान्न नसकेका अनेक रहस्य लुकेका छन् । इतिहासले राज्य, राजा र मन्दिरको वरिपरि फन्को मारेको हुन्छ । सखडा मन्दिर पनि तिरहुत राज्य र राजा शक्र सिंहसँग सम्बन्धित छ । सखडा मन्दिरको संस्थापन, पतन र उत्थानको इतिहास र त्यससँग जोडिएको मानवीय समुदायको अवस्था पनि अनुसन्धानको विषय हो ।
सखडेश्वरी महिषासुरमर्दिनी माताको आभा अनुपम छ । भक्तजनको अभिलाषा पूरा हुने विश्वासले गर्दा यस मन्दिरको ख्याति टाढा टाढासम्म फैलिएको छ । त्यसैले मंदिरको विकास र सौन्दर्यमा दिनानुदिन अभिवृद्धि हुँदै आएको छ । नेपाल सरकारले राष्ट्रिय बजेटमा यस मन्दिरलाई समावेश गरेको छ । यहाँ दर्जनौं दर्शनीय मन्दिरहरू छन् ।
दश महाविद्यामध्ये काली मन्दिर निर्माण भइसकेको छ भने तारा, षोडषी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धूमावती, बगलामुखी, मातंगी, कमलाको मन्दिर निर्माणाधीन अवस्थामा छ । सखडा मन्दिर भविष्यको विशाल र वैभवशाली मन्दिर हो । यस मन्दिरको व्यवस्था र सुरक्षामाथि प्रश्न उठ्ने काम कोही कसैबाट पनि हुनुहुँदैन । माताको शृंगारको चोरी र बरामदीको घटनामार्फत माताले के संकेत गर्नुभएको छ, सबैले बुझ्नु जरूरी छ ।