रामगोपालपुर (महोत्तरी) : नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा प्रदेश-२ इञ्चार्ज रघुवीर महासेठले पार्टी नेता माधव नेपालउपर अब सधैं आफ्नै घर जलाएर आगो तापेको मुद्दा उठी रहने बताएका छन् ।

आज मङ्गलबार महोत्तरीको रामगोपालपुरमा आयोजित पार्टी प्रवेश समारोहलाई सम्वोधन गर्दै महासेठले पार्टी काममा फर्केपनि नेपालमाथि अब सधैं कार्यकर्ताले आफ्नै घर जलाएर आगो तापेको आरोप लगाई रहने बताएका हुन् । लामो कालखण्ड पार्टीको नेतृत्व गरेका नेपालको रगत पसिना एमाले बन्नमा लागेको भएपनि अहिले एमालेलाई रेटेको आलो रगतको छिटा पनि उनको शरीरमा लागेको महासेठको भनाइ छ ।

“पार्टी काममा फर्कन उहाँ सक्नुहुन्छ, एमाले उहाँको पनि हो”महासेठले भने, “तर कार्यकर्ताको रोष सहने आँट चैं उहाँमा हुनपर्छ ।” आफैं पार्टी अनुशासन उलङ्घन गरेर अहिले लाज पचाएर पदको वार्गेनिङ्गमा नेपाल लागेका महासेठको ठाडो आरोप छ । माधव नेपालसहितका देउवा/प्रचण्ड/उपेन्द्रको गठवन्धन अपवित्र र षडयन्त्रपूणर् भएको महासेठले बताए । सर्वोच्च अदालतले परमादेशबाट प्रधानमन्त्री नियुक्तिदेखि दलीय ह्वीप नलाग्ने गरेको फैसलाले बहुदलीय संसदीय व्यवस्थालाई जिस्क्याएको महासेठको टिप्पणी छ ।

एमाले रामगोपालपुर नगर कमिटीले आयोजना गरेको कार्यक्रममा नेता महासेठले रामबाबु मण्डल, सकिवुल खानसहितका १५० जनालाई सयपत्री फूलको माला लगाइ दिएर स्वागत गर्दै पार्टी प्रवेश गराएका छन् । कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा महोत्तरी इञ्चार्ज रामदयाल मण्डल, केस तथा जिल्ला सहइञ्चार्ज सरोज यादव र केस तथा जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकीसहितका नेताले पार्टी प्रवेशीहरुलाई बधाई ज्ञापन गर्दै रामगोपालपुरमात्र नभएर महोत्तरी जिल्ला नै अब एमाले किल्ला बन्ने दावी गरेका थिए ।

कार्यक्रम एमालेका रामगोपालपुर नगर कमिटीका संयोजक सियाशरण यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।

२०७८ श्रावण १९, मंगलवार २०:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय