
बुटवल: लुम्बिनी प्रदेशसभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्।
नेकपा एमाले विभाजन भई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्।
घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्। आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर सनाखत भएको छ। भट्टराईले एकजना सांसदले समाजवादी रोजेको बताए।
उनका अनुसार निर्वाचन आयोगले लुम्बिनी प्रदेश सभा सचिवालयलाई यसबारे पत्राचार गरेपछि प्रदेश सभामा कायम राजनीतिक दल र प्रदेश सभा सदस्यको अभिलेख अद्यावधिक गर्न लागिएको हो।
घर्तीले समाजवादी रोजेसँगै प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको संख्या ६ पुगेको छ। ८० सदस्यीय प्रदेश सभामा एमालेका ३७ सांसद थिए। घर्तीले नेकपा एकीकृत समाजवादी रोजेपछि अब एमाले सांसदको संख्या ३६ भएको छ। समाजवादी रोजेकी उनी गठबन्धन सरकारमा मन्त्री बन्ने चर्चा छ।