काठमाडौं : संसारकै दोस्रो ठूलो फिल्म उद्योग मानिने बलिउड भारतीयझैँ नेपाली कलाकारका लागि पनि सपना हो । बलिउडमा काम पाउने सपना बुनेर वर्षैपिच्छे त्यहाँ पुग्ने नेपालीको संख्या ठूलो छ । केही कलाकारले बलिउड इन्डस्ट्रीमा आफ्नो राम्रो छाप पनि छाडेका छन् । तर, त्यहाँ गएर मेकिङमा लागेका नेपालीहरु भने थोरै छन् । किनकि, बलिउड फिल्म बनाउन सानोतिनोले लगानी हुँदैन ।

तर, एक नेपाली महिला बलिउड फिल्म निर्माण गर्न कस्सिएकी छन् । देशसँगै विदेशमा समेत आफ्नो व्यवसाय फैलाइसकेकी पुनम यादवले बलिउड फिल्म बनाउन लागेकी हुन् । नेपालको तराई भेगमा जन्मिएकी उनी चाँडै आफ्नो पहिलो बलिउड फिल्मको घोषणा गर्ने तयारीमा छिन् । ठूलो बजेटमा बन्न लागेको फिल्मको अहिले स्क्रिप्ट लेखनको काम भइरहेको उनले जानकारी दिइन् ।

आफूले बनाउन लागेको बलिउड फिल्ममा नेपाली कलाकारहरुलाई पनि अवसर दिने पुनमको भनाई छ । नेपाली कलाकारलाई संसारभर चिनाउनु नै आफ्नो मुख्य उद्देश्य रहेको उनी बताउँछिन् । पुनम बलिउडअघि नेपाली फिल्म निर्माणको तयारीमा छिन् । उनको पहिलो नेपाली फिल्मलाई दीवाकर भट्टराईले निर्देशन गर्नेछन् । यो फिल्मको पनि अहिले स्क्रिप्टमा काम भइरहेको छ ।

पुनम बलिउड र नेपाली फिल्म निर्माणको तयारीमा भए पनि उनले निर्माण गरेको एक हिन्दी गीत भने सार्वजनिक भइसकेको छ । दुई हप्ता अगाडि भारतको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट सार्वजनिक भएको ‘इबादत बन गए हो’ बोलको रोमान्टिक गीतलाई पुनमले निर्माण गरेकी हुन् । गीतमा नेपाली गायिका स्मिता दाहाल र भारतका चर्चित गायक शबाब साबरीले स्वर छ ।

यूट्युब रिलिजको दुई हप्तामा चार लाखभन्दा बढी भ्यूज बटुल्न सफल भएको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । १ करोडको लागतमा बनेको गीतको भिडियोमा गायिका स्मिता आफैं फिचर्ड छिन् भने उनको जोडी भारतीय टेलिभिजनका चर्चित कलाकार अर्जुन बिज्लानीसँग बाँधिएको छ । गीतमा गायक सबरी स्वयंको संगीत र केआर वाहीको शब्द रचना रहेको छ ।

‘इबादत बन गए हो’ गीतलाई दर्शकले निकै रुचाएपछि पुनमले अर्को हिन्दी गीत पनि निर्माण गरेकी छन्, जुन चाँडै भारतको ‘टि सिरिज’ कम्पनीको यूट्युब च्यानलबाट सार्वजनिक हुनेछ । मनोरञ्जन क्षेत्रमा मधेशका महिलाको सहभागिता बढाउने उद्देश्य बोकेर फिल्म र गीत निर्माणमा होमिएकी उनी नेपालको राजनीतिमा पनि सक्रिय रहेकी छन् । उनी एक सफल ‘विजनेश वुमन’ पनि हुन् ।

२०७८ आश्विन १, शुक्रबार २३:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय