बर्दिबास :  उमेरले १०० वर्ष टेक्नै लागेका समाजका जेष्ठ नागरिक आफुप्रति दर्शाइएको स्नेह, सद्भाव र सम्मानले विभोर भएका छन् । यसपालिको बडादशैं पर्वको अवसरमा रोटरी क्लव अफ बर्दिबासले आज शुक्रबार गरेको सम्मानले यहाँका जेष्ठ नागरिक खुशी हुने अवसर बनेको हो ।

“हामी वृद्धवृद्धालाई सम्झनुभयो, तपाईंहरुको जय होस्” बर्दिबासचोकमा आज साँझ सम्पन्न बडादशैं शुभकामना तथा सम्मान कार्यक्रममा बर्दिबास-२ की ९४ वर्षीया गोरीमायाँ विकले रोटरी कल्व बर्दिबासका अध्यक्ष विष्णु खड्कालाई स्नेहले सहलाउँदै भन्नुभयो, “यो सम्मानले जीवन रमाइलो भएको अनुभूतिसँगै अझै धेरै बाँच्ने रहर जगाएको छ ।” समाजमा पाइने वास्ताले १०० वर्ष उमेर पुग्न लाग्दा मन फुरुङ्ग बनाएको सम्मानित हुने गोरीमायाँसहितका जेष्ठ नागरिकको प्रतिकृया छ ।

बडादशैं पर्वको अवसरमा क्लवले बर्दिबासचोक परिसरसँग जोडिएका बर्दिबास-१, २, ३ र १४ का ९० वर्ष माथिका जेष्ठ नागरिकलाई प्रतिकात्मक रुपमा सम्मान गरेको हो । यसरी सम्मानित हुनेमा बर्दिबास-३ का ९५ वर्षीय कृपाश्वर बोहरा, बर्दिबास-२ का गोरीमायाँ विक, बर्दिबास-१ का ९१ वर्षीय भीमप्रसाद बराल र बर्दिबास-१४ का ९० वर्षीय गङ्गाबहादुर थापा हुनुहुन्छ । कार्यक्रममै सरिक हुनुभएका यी चारका अतिरिक्त स्वास्थ्य र शारीरिक अवस्थाले कार्यक्रमस्थल पुग्न नसक्नुभएकी बर्दिबास-१ की ९७ वर्षीया कणर्कुमारी खत्रीलाई घरै पुगेर क्लवका पदाधिकारीले सम्मान गरेका थिए ।

jesth_nagarik_bardibas_nepalvani2

क्लवले सम्झेर बोलाउँदा समाजमा अझै मेरो खोजी रहेछ भन्ने लागेको सम्मानित व्यक्तित्वहरुले समान प्रतिकृया दिनुभएको छ । “बुढ्याइँले हातगोडा गले, शरीर शिथिल भयो , तर मन चैं रहर पाली रहेकै हुन्छ” ९१ वर्षीय भीमप्रसाद बरालले भन्नुभयो, “बडादशैं पर्वको अवसर पारेर तपाईँहरुले सम्झदा मन प्रपुल्ल भएको छ ।” समाज र परिवारबाट वृद्धवृद्धाले समुचित वास्ता पाइराख्ने होभने जीवन कहिल्यै बोझिलो नठानिने सम्मानित व्यक्तित्वमध्येका गङ्गाबहादुर थापा बताउनुहुन्छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व कृपाश्वर बोहराले सम्मानको परिपाटी देखावटी नभई वृद्धवृद्धाप्रति समर्पण र स्नेहभावको हुनपर्ने सुझाव दिनुभयो । “सबैलाई शिक्षा दिनुहोस, कुनै वृद्धवृद्धाले जीवनको उत्तराद्र्धमा बेवारिस हुन नपरोस् ।”

jesth_nagarik_bardibas_nepalvani2

क्लवले प्रतिकात्मक रुपमा आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित व्यक्तित्वलाई कदरपत्रसहित टेक्ने सहाराका लागि स्टिलको हलुको छडी, दोसल्ला, गम्छा र हर्लिक्स, काजुसहितका पोसिलो खानेकुराको झोला हस्तान्तरण गरिएको थियो ।

बडादशैं शुरु भएपछि आयोजना हुँदै आएका शुभकामना आदानप्रदान कार्यक्रमलाई रोचक, सामाजिक उत्तरदायित्वको निर्वाह र आफ्नो अघिल्लो पुस्ताप्रति सम्मानभाव जगाउन अनुकरण हुनसकोस भनेर जेष्ठ नागरिक सम्मान आयोजन गरिएको क्लवका अध्यक्ष खड्काको भनाइ छ । “सबैले जेष्ठ नागरिकप्रतिको दायित्ववोध गरुन् भन्ने सम्मान कार्यक्रमको अपेक्षा हो” खड्काले भन्नुभयो, “परिवार, समाज, राज्यका अङ्गहरु ज्ोष्ठ नागरिकप्रति जिम्मेवार बनुन् भन्ने सन्देस पनि दिन चाहेका हौं ।”आपूmहरुले यही चासोका लागि प्रतिकात्मक रुपमा कार्यक्रम आयोजन गरेको खड्काको भनाइ छ ।

jesth_nagarik_bardibas_nepalvani2

कार्यक्रममा सामाजिक, राजनीतिक र विभिन्न व्यवसायिक क्षेत्रका अगुवाहरुले पर्वको शुभकामना व्यक्त गर्दै जेष्ठ नागरिकप्रतिको दायित्व निर्वाहमा सधैं समर्पित रहने प्रतिवद्धता जनाउनुभएको छ ।

२०७८ आश्विन २२, शुक्रबार १९:५९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय