
गण्डकी : महिला हिंसा न्यूनीकरणका लागि सबैतहबाट सकारात्मक सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ । पर्यटन व्यवसायी महिला सङ्घ नेपाल (टेवान) द्वारा आयोजित ‘व्यवसायमा महिला हिंसा सचेतना’ विषयक कार्यक्रमका वक्ताले शिक्षा र सचेतनाकै अभावमा अधिकांश स्थानमा महिला हिंसा जारी रहेको बताए ।
गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापाले प्रत्येक महिला आत्मनिर्भर बन्न सकेमा उनीहरू कुनै पनि प्रकारका हिंसाबाट जोगिन सक्ने बताउनुभयो । आत्मनिर्भर बन्दै आफ्नै खुट्टामा उभिन सक्ने वातावरणका लागि शिक्षा र सचेतना अपरिहार्य भएको उहाँले बताउनुभयो ।
महिला हिंसाका घटना सम्बन्धमा समाजमा उठेका विभिन्न विषयलाई आत्मसात् गर्दै कानुन निर्माण गर्ने प्रक्रियामा गण्डकी सरकार लागिपरेको उहाँले बताउनुभयो ।गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले महिलाहरूको एउटै आवाज नहुँदासम्म उनीहरू अधिकारहरूबाट वञ्चित हुने बताउँदै शिक्षासँगै सचेतना अपरिहार्य आवश्यक भएको बताउनुभयो ।
देशमा महिला अधिकारका कानुन निर्माण भए तापनि कार्यान्वयन पक्ष फितलो हुँदा समस्या देखिएको उहाँको भनाइ छ । पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले शिक्षित समाजमा महिला हिंसाका गतिविधि शून्य रहेको तर्क गर्दै घरका अभिभावकले छोराछोरीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने आवश्यकतालाई औँल्याउनुभयो ।
टेवानकी संस्थापक अध्यक्ष लक्की कार्की क्षेत्रीले परम्परा र संस्कृतिमाथि औँला नउठाई आइपर्ने अवरोध र बाधालाई उजागर गर्नुपर्ने वर्तमानको आवश्यकता भएको बताउनुभयो । टेवानकी अध्यक्ष रेणु थापा मगरले शिक्षा, सचेतनासँगै महिलाहरू स्वरोजगार बन्न सकेमा त्यसबाट आत्मविश्वास बढ्ने र हिंसाजन्य गतिविधि कम हुने धारणा राख्नुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घकी सदस्य शोभा गौतम, विन्दु कोइराला सुवेदी, अधिवक्ता तारा शर्मा, टेवानका महासचिव शोभा पाण्डे, कार्यक्रम संयोजक पवित्रा पाण्डे लगायतले शिक्षा र सीपको कमीका कारण समाजमा महिलाहरू पछि पर्नुपरेको र त्यसले हिंसाजन्य गतिविधि बढाएको धारणा राख्नुभयो ।