
नेपालवाणी/ जनकपुरधाम
प्रदेश २ को नामाकरणका लागि ‘जनक प्रदेश’ को प्रस्ताव दर्ता गराएको नेकपा एमालेले ‘जानकी प्रदेश’ मा समर्थन जनाएको छ । शुक्रवार बसेको प्रदेशसभा बैठकमा नेकपा एमालेकी सांसद शारदा देवी थापाले जानकी प्रदेशमै आफुहरुको समर्थन रहेको जनाईन् । पार्टी विभाजन अघि नेकपा एमालेको तर्फबाट प्रमोद कुमार यादवले ‘जानकी प्रदेश’ र शारदा देवी थापाले ‘जनक प्रदेश’ नाम दर्ता गराएकी थिइन् ।
उनले जानकी प्रदेशभन्दा उचित कुनै अर्को नाम नहुने समेत दावी गर्दै भनिन्, ‘सुरुमा हामीले जानकी प्रदेश नै दर्ता गराएका थियौँ, पछि नेकपा एकिकृत समाजवादी पार्टीले जानकीमै अडेर बस्नुभो, हामी जनक प्रदेश दर्ता गरायौँ । नेकपा एमाले पनि जानकी प्रदेशलाई नै समर्थन गर्छ ।’ थापाले जनककै नाममा जनकपुर नाम पर्न गएकाले जनकनन्दिनी जानकीको नाममा प्रदेशको नामाकरण सौभाग्यको कुरा हुने बताईन् । अन्तराष्ट्रिय स्तरमा पनि चिनिने सबैभन्दा ठुलो संरचना माता जानकी कै मन्दिर यहाँ रहेकोले जानकी प्रदेश उच्चत्तम नाम हुने बताईन् ।
एमालेकै सांसद किशोरी साह कमलले जानकी नामको उच्चारण र त्यसलाई हेर्ने दृष्टिकोणले नै परिवर्तन गरिरहेको बताए । उनले रामायण सर्किट अन्तर्गत जनकपुरधामलाई जोडने कुरा भइरहेकोले प्रदेशको नाम सुझबुझका साथ जानकी नै उत्कृष्ठ हुने बताए ।
यता सत्तापक्ष जसपा नेपाल र माओवादी केन्द्र मधेशको पक्षमा वकालत गर्दै आएको छ भने नेपाली काँग्रेसले मिथिला–भोजपुराको अडानबाट पछि हटन खोजेको छैन् । सबैदलहरु आ–आफ्नै प्रस्तावमा अडिग रहेकोले पुनः प्रदेश नामाकरण गर्ने प्रस्ताव निर्वाचन प्रक्रियामा गएर फेल हुने सम्भावना रहेको एक सांसदले बताए । उनले भने, ‘दलहरुले यसरी नै आ–आफ्नो अडानमा रहे प्रदेशको नामाकरण पुनः अडकिन्छ, यो अन्तिम मौका हो, यसमा प्रदेश र राजधानी तोकिएन भने कुनैपनि हालतमा जनताले माफ गर्ने छैन् ।’