
गोविन्द महतो,
जनकपुरधाम : झण्डै १६ महिना महिना थन्क्याएर राखिएको रेलेको दोश्रो पटक परिक्षण गरिएको छ ।
धनुषाको जनकनन्दनी गाउँपालिका ईनर्वा स्टेशनमा डेढ वर्षदेखि त्रिपालमुनि छोपेर राखिएको रेलको दोश्रो पटक परिक्षण गरिएको छ । परिक्षणको क्रममा शनिवार ईनार्वामा महिनौं देखि पालमुनि छोपेर राखिएको नेपाली रेललाई पालबाहिर ल्याई दोश्रो पटक परिक्षण गरिएको हो ।
रेल्वे ट्रयाक, इन्जिनको सहितको अवस्था बुझ्न धनुषाको इनर्वाबाट जनकपुरधाम स्थित कुर्था स्टेशनसम्म नेपाली रेल परिक्षणका लागि गुडाइएको रेल्वेका अधिकारीहरुले जानकारी दिएका छन् । यस अघि भारतीय रेल्वे कम्पनी कर्पोरेसनबाट (कोंकण) नेपाल सरकारले खरिद गरेको रेल नेपाली भूीममा ल्याएको दिन परिक्षण गरिएको थियो ।
गत वर्ष असोज ३ गते रेल नेपाली भूमीमा ल्याइएको थियो । कम्पनीका मेकानिकल इन चिफ दीपक त्रिपाठीले नेपाल रेल्वे कम्पनी लिमिटेडका तत्कालिन महाप्रबन्धक गुरु भट्टराईलाई हस्तान्तरण गरेका थिए । त्यो दिन रेलको पहिलो परिक्षण गरी, भौतिक पूर्वाधार, कानून, कर्मचारीको अभावमा धनुषाको इनर्वामा पालमुनि थन्कयाएर राखिएको थियो ।
रेल्वे ट्रयाकको निर्माण भएपनि रेल गुड्ने÷नगुड्ने संशयका बिच तयारी स्वरुप परिक्षण गरिएको बताइएको छ । नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले नेपाली भूमिमा रेल गुडाउने सम्पूर्ण तयारी पूरा भएपनि यही मितिमा रेल चल्छ भन्ने यकिन नभएको बताए । फेब्रुअरी १० तारिख भित्रै रेल गुडाउने हाम्रो तयारी छ, महाप्रबन्धक झाले भने, ‘रेलको इन्जिनको अवस्था, रेल्वे ट्रयाक र प्राविधिक अवस्था तथा परिक्षणका लागि रेल गुडाइएको हो ।’
यद्यपि रेल गुडाउने मिति सम्बन्धमा राजनीतिक स्तरबाटै निक्र्यौल लाग्ने महाप्रबन्धक झाको भनाई छ । उनले दुई देशको राजनीतिज्ञहरु बिच सहमति पश्चात रेल गुडाउने सम्बन्धमा निश्चित मितिको विषयमा निर्णय हुन्छ । उनले भने ‘दुई देशको प्रधानमन्त्रीले नै रेलको उद्घाटन गर्ने भएकोले समय लागेको हो ।’