
नेपालवाणी / जनकपुरधाम
प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् ।
प्रदेशसभामा भएको गोप्य मतदानबाट दुई तिहाई भन्दा बढी मत सहित ‘मधेश प्रदेश’ नामाकरण भएपछि मंगलवार त्यसको विरोधमा यहाँका युवाहरुले सांसदहरुको पुतला दहन गरेका हुन् ।
२२ जिल्लाको मधेश रहेपनि ८ जिल्लालाई ‘मधेश नामाकरण’ गरिएकोमा आपत्ति जनाउँदै विरोध गरिएको छ । युवा अभियन्ता सुशील कर्णको अगुवाइमा जनकपुरधाम स्थित जानकी चोकमा युवाहरुले ८ जिल्लालाई ‘मधेश प्रदेश’ मान्दैनौँ, प्रदेशको नाम मिथिला भोजपुरा कायम गर भन्दै पुतला जलाएका छन् ।
कर्णले आफुपनि मधेश आन्दोलनमा अग्रपंक्तिमा रहेको र त्यसकै कारण पाँच वर्ष भन्दा बढी समयसम्म मुद्दा खेपेको भन्दै उनले ८ जिल्ला मधेश प्रदेश मान्य नहुने बताए । उनले ८ जिल्लाको पहिचान ‘मिथिला भोजपुरा’ रहेकाले सोही पहिचानको आधारमा प्रदेशको नाम हुनुपर्ने माग गरे ।
कर्णले २२ जिल्लालाई ‘मधेश प्रदेश’ कायम गरे मात्र आफुहरुलाई स्वीकार्य हुने हुने बताए । उनले मधेशको भुगोललाई मधेश आन्दोलनको नाममा खुम्च्याउन खोजेको समेत आरोप लगाए ।