नेपालवाणी / जनकपुरधाम
आसन्न माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेश प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशभरका मतदातालाई जनकपुरधाममै मतदान गर्ने सुविधा मिलाइएको हो ।
राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका ८ वटै जिल्लाका ३७२ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए । निर्वाचनमा प्रयोग हुने मतपत्र समेत आइसकेको जानकारी दिए । निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने उनको भनाई छ ।
‘सेतो पानामा हरियो रंग र विवरण भएको एक खालको छ । जसमा प्रदेशसभाका सदस्यहरुले मतदान गर्नेछन् । त्यस्तै, अर्को निर्वाचन मण्डलका अर्का स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख–उपप्रमुख मतदाता हुने भएको हुँदा उनीहरुका लागि रातो मसिका विवरण र चिन्ह भएको मतपत्र गरि दुई प्रकारका हरियो र रातो मतपत्र केन्द्रबाटै पठाइएको छ’ उनले भने ।
त्यस्तै, मतदान केन्द्रमा पनि स्टिकर र केन्द्र फरक–फरक रहने छ । ‘प्रदेश सभाका लागि हरियो मतपत्र प्रयोग गर्ने केन्द्र र लाइन छुट्टै हुन्छ,’ उनले भने, ‘स्थानीय तहका मतदाताहरुको लागि रातो रंगको मतपत्र, छुट्टै मतपेटिका र लाइन हुन्छ ।’ यसरी प्रत्येक ठाउँमा छुट्टा–छुट्टै मत पेटिका र लाइनको व्यवस्था गरिएको उनले बताए ।
निर्वाचनका लागि चार किसिमका क्लस्टर (समूह) अनुसार मतपत्र पठाइएको छ । ‘महिला, दलित, अपाङ्ग, अल्पसंख्यक र अन्य गरेर चार किसिमको क्लस्टर रहेको उनले बताए । जुन प्रदेशमा जुन क्लस्टर पद रिक्त हुने हो, त्यहि क्लस्टर र त्यहि पदको लागि निर्वाचन हुने हुँदा मतपत्र पठाइएको छ’ उनले भने ।
बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने मतदानमा कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै केन्द्रीय निर्वाचन आयोगले जारी गरेको स्वास्थ्य सुरक्षासम्बन्धी १९ बुँदे मापदण्ड अनुसार निर्वाचनको तालिका निर्धारण गरिएको उनले बताए । संक्रमित मतदाताका लागि बेग्लै मतदान स्थल बनाइएको र मत खसाल्न बेग्लै बाकस समेत राख्ने व्यवस्था मिलाइएको निर्वाचन अधिकृत प्याकुरेलले जानकारी दिए ।
उनले मतदान केन्द्र महेन्द्र नारायण निधि प्रतिष्ठानमा स्वास्थ्यकर्मीको टोली समेत खटाइने बताए । मतदान सकिए लगत्तै मतगणना सुरु गरेर मतपरिणाम आउने तरिकाले व्यवस्था भएको उनले बताए ।
प्रदेश सरकारका मन्त्री र कर्मचारी, स्थानीय तहका पदाधिकारी र कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी, सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठनलाई आचार संहिता लाग्ने उनले बताए ।
राष्ट्रियसभा सदस्य चुनावका लागि मधेश प्रदेशमा दुई पदमा ४ दलबाट ५ जनाले उम्मेदवारी दिएका छन् । चुनावी प्रतिस्पर्धाका लागि सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्र र जसपाले १÷१ जना र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ तथा नेकपा एमालेबाट २ जनाले उम्मेदवारी दिएका हुन् ।
सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले महिला कोटामा उम्मेदवारी दिएकी छन् । यस्तै, जसपाबाट अन्य समूह कोटामा सिरहाका मोहम्मद खालिद सिद्धिकीले उम्मेदवारी दिएका छन् । लोसपाबाट महोत्तरीकी रुपा यादवले महिला कोटामा उम्मेदवारी दिएकी छन् । त्यस्तै, नेकपा एमालेको तर्फबाट महिला कोटामा रौतहटकी बिना देवी र अन्य समूहबाट पर्साका उस्मान अन्सारीले उम्मेदवारी दिएका छन् ।
यता, राष्ट्रियसभा निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच चुनावी गठबन्धन भएको छ । लोसपासँगको गठबन्धनपछि एमालेकी विना देवीले उम्मेदवारी फिर्ता लिएकी छन् ।
मधेस प्रदेशमा राष्ट्रियसभाका सदस्य सुमन प्याकुरेल र शशिकला दाहालको समयअवधि समाप्त भएपछि चुनाव हुन लागेको हो । राष्ट्रियसभा निर्वाचनमा मधेश प्रदेशका जनताको चाहना र भावनालाई मध्यनजर गर्दै नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपाल बीच सहमति भएको बताइएको छ । सहमतिअनुसार अन्यतर्फ नेकपा एमालेका उम्मेदवार उसमान अंसारी (सूर्य छाप) र महिलातर्फ लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार रुपा कुमारी यादव (साईकल छाप) लाई मतदान गर्न राष्ट्रिसभाका मतदातासँग अपिल गरिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गर्न पाउनेछन् । मधेस प्रदेशमा १०४ जना प्रदेशसभा सदस्य तथा २ सय ६८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् ।
यी मतदाताको राजनीतिक दलका आधारमा मतभार हेर्दा कांग्रेसको २ हजार २६२ मतभार, माओवादी केन्द्रको १ हजार १९४, एमालेको ९४२, नेकपा एकीकृत समाजवादीको ७५०, जसपाको २ हजार ९८८, लोसपाको १ हजार ५६०, लोकतान्त्रिक फोरमको १०८, संघीय समाजवादी पार्टीको ४८ र २ पालिकाबाट स्वतन्त्र ३६ मत छ । फोरम लोकतान्त्रिक कांग्रेसमा आइसकेकाले कांग्रेससँग अब २ हजार ३७० मतभार रहेको छ ।
स्थानीय तहको प्रमुख र उपप्रमुखको मतभार १८ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ । जसअनुसार स्थानीय तहका ४ हजार ८२४ र प्रदेशसभाका ४ हजार ९९२ मतभार रहेको छ ।


२०७८ माघ १०, सोमबार १०:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु