
नेपालवाणी,
जनकपुरधाम : मधेश प्रदेशमा सवारी दुर्घटनामा परेर छ महिनाको अवधिमा तीन सय जनाको मृत्यु भएको तथ्याङकले देखाएको छ ।
पछिल्लो छ महिनाको तथ्याङकमा प्रत्येक दिन एक जना भन्दा बढी व्यक्तिको मृत्यु भईरहेको तथ्याङकले उल्लेख गरेको हो ।
मधेस प्रदेश प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परेर प्रदेशमा २ सय ९२ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको श्रावण देखि पुस सम्ममा प्रदेशको विभिन्न जिल्लामा २ हजार ८ सय ५९ सवारी दुर्घटनामा २ सय ९२ जनाले ज्यान गुमाएका छन् ।
प्रदेश प्रहरीका प्रवक्ता प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार मृतक २ सय ९२ मध्ये २ सय ५२ पुरुष र ४७ जना महिला छन् । सोही अवधिमा दुर्घटनामा परेर ४ हजार २ सय ३८ जना घाइते भएका छन् । घाइतेमध्ये ८ सय ८० जना महिला छन् ।
प्रहरीले यस ६ महिनाको अवधिमा १ लाख ३६ हजार ४ वटा गाडीहरुलाई कारवाही गर्दा ११ करोड ८९ लाख २५ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको प्रदेश प्रहरीको तथ्यांक छ ।