गोविन्द महतो,

जनकपुरधाम : ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको प्राचिन ईतिहासमा आधारित रामजानकी विवाहको प्रसंग समेटिएको पुस्तक ‘पूनी पूनी होत विवाह’ लोकार्पण गरिएको छ । मिथिलामा रामजानकी विवाह उत्सव र जानकी रुपी सिताको रामायणसंगको प्रसंगलाई ‘पूनी पूनी होत विवाह’ पुस्तक मार्फत उजागर गरिएको छ ।

पत्रकार तथा साहित्यकार सुजित कुमार झाले त्रेता युगमा भगवान राम र सिताको विवाहको स्मरणमा जनकपुरधाममा हुने विवाहोत्सवलाई पुस्तक मार्फत धर्म र संस्कृतिको उजागर गर्ने प्रयास गरिएको हो । झाद्वारा मैथिली भाषामा लिखित पुस्तकमा रामजानकी विवाह महोत्सव हुने पौराणिक संस्कृति, महत्व र आजको आवश्यकता सहितका विषयवस्तुलाई पुस्तकमा गहन रुपमा पस्किने प्रयास गरिएको छ ।

सितारामा विवाहको सम्पुर्ण जानकारी यहाँको भाषा, साहित्य, कला र संस्कृतिक कुराहरुलाई पुस्तकमा समावेश गरिएको छ । विवाहको सम्बन्धमा नेपाली भाषाको आदिकवि भानुभक्त आचार्य, वाल्मिकी, तुलसीदास चन्दा झा सहित दश वटा भन्दा बढी रामायणको कथाहरुमा आधारित वृतान्तहरु समेत पुस्तकमा समावेश गरिएको छ ।

पुस्तक समीक्षक तथा विश्लेषक रामचन्द्र झाले पुस्तकको समिक्षा गर्दै ब्राह्मडको नायिका सिता र भगवानको प्रभुतालाई पुस्तकमा गहिरो रुपमा पस्किएको बताए । उनले भने, मिथिलाको संस्कृतिक अस्मिताको ध्वजावाहिका जनक दुलारी सिताको विवाहमा आधारित पारम्परिक विधि–व्यवहार र एतिहासिकतासंग जोडिएको विषयवस्तुलाई वर्तमान स्थिति–परिस्थितिको विभिन्न शिर्षक अन्तर्गत संगोपांग विवेचना र विश्लेषण गरिएको छ । पुस्तकले मिथिलाको महिमा मर्यादा पुरुषोत्तम रामको ससुरालीको गौरव र वाल्मिकी कृति ‘रामायण’ को यो पहिलो विवेचना हुनेछ ।’

साहित्यकार तथा सह–प्राध्यापक श्यामसुन्दर शशिले ‘पूनी पूनी होत विवाह’ मा केही तथ्य र मौलिकतालाई वर्षौसम्म अक्षुण्ण राख्न मदत गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यो पुस्तक पठनीय एवं संग्रहनीय छ । लिखित र अलिखित प्र्रायः दुवै श्रोतको उपयोगमा ल्याएर ग्रन्तबद्ध गरिएकोमा लेखकलाई बधाई ज्ञापन गर्दछु ।’

उद्योग, पर्यटन तथा वन मन्त्रालयका मन्त्री शत्रुधन महतोले पुस्तकले सिताराम र जनकसंग सम्बन्धित क्षेत्रहरुको प्रचार प्रसारको लागि विश्व पर्यटनसंग जोड्न पुस्तकले भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘बाहिरी पर्यटकको पर्यटन क्षेत्र स्ुरक्षितको लागि यो पुस्तकको महत्वपूर्ण योगदान मानिनेछ । यो संगसंगै पदयात्रा, जलविहार, धार्मिक तथा सांस्कृतिक पर्यटन सहितको आधार बनाउँदै क्षेत्रगत हिसाबबाट सरकार र व्यवसायी दुवैको पहलमा पर्यटन प्याकेज ल्याउन समेत आवश्यक छ ।’

प्ुस्तक लेखक सुजित कुमार झाले खासगरी रामजानकी विवाह महोत्सवमा किन हजारौं तिर्थयात्री वैवाहिक मेला भर्न जनकपुर आउँछन, धार्मिक उत्सव कस्तो हुन्छ, यसको महत्व र पौराणिक परम्परा सहितको जिज्ञासाहरुको समाधान पुस्तकमा पाउन सकिने बताए ।

‘जानकी मन्दिरमा हरेक वर्ष हुने विवाह उत्सवको लौकिक र अलौकिक दुवै थरीको विवाहको आकर्षणलाई पुस्तक रचना मार्फत पाठकलाई जानकारी गराउने छ ।’ झाको पुस्तक ‘पूनी पूनी होत विवाह’ लाई नेपाल सरकार संघीय संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा स्थापित विद्यापति पुरस्कार कोष २०७७ सालको मैथिली अनुसन्धान पुरस्कार वापत १ लाख रुपैयाँ समेत प्रदान गरेको छ । पत्रकार झाको यो दशौं कृतिको रुपमा प्रकाशन भएको हो ।

२०७८ माघ १८, मंगलवार १७:५७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय