काठमाडौं : सामाजिक संजाल फेसबुक शुक्रबार १८ वर्षको भयो । यसको स्थापना ४ फेब्रुअरी २००४ मा भएको थियो । कम्पनीको १८ वर्षको इतिहासमा उसका प्रयोगकर्ताको संख्या पहिलो पटक घटेको छ ।
फेसबुकका माउ कम्पनी मेटा नेटवक्र्स (पहिले यसलाई पनि फेसबुक नामले चिनिन्थ्यो) ले २०२१ को अन्तिम त्रैमासिकमा फेसबुकका दैनिक सक्रिय प्रयोगकर्ताको संख्या तेस्रो त्रैमासिकको १ अर्ब ९३ करोडबाट घटेर १ अर्ब ९२ करोड ९० लाख भएको बताएको थियो ।
यद्यपि फेसबुकका कूल प्रयोगकर्ताको संख्या हेर्ने हो भने १० लाखको गिरावट निकै मामुली हो । अहम कुरा यो हो कि पछिल्लो १९ वर्षमा पहिलो पटक यसका प्रयोगकर्ताको संख्यामा अब गिरावट आउन सुरु भएको छ । यो समाचार सार्वजनिक भएपछि अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जमा बिहीबार मेटा नेटवर्क्सको शेयरमा करिब २७ प्रतिशत गिरावट आएको छ । यसका कारण कम्पनीको बजार मूल्य करिब २३७ अर्ब डलर घट्यो । अमेरिकामा एक दिनमा कुनै पनि कम्पनीको शेयर मूल्यमा यति भारी गिरावट कहिल्यै देखिएको थिएन ।
यो गिरावटको कारण के हो ?
मेटाका सीइओ मार्क जुकरबर्गका अनुसार उनका प्रयोगकर्ताहरु खासगरी युवाहरु टिकटक र युट्युबतिर गएका कारण कम्पनीको सेल्स ग्रोथमा फरक परेको हो । साथमा विज्ञापन दिने कम्पनीहरुले पनि आफ्नो लागतमा कटौती गरिरहेका छन् । कम्पनीका मुख्य वित्तिय अधिकारी डेभ वेनरले भने ‘हामीले मानेका छौं कि प्रतिस्पर्धी सेवाको वृद्धिदरमा नकारात्मक असर परेको छ । खासगरी युवा दर्शकहरुमा ।’
यसअघि गएको अक्टोबरमा कम्पनीले आफ्नो नाम बदलेर मेटा राख्ने घोषणा गरेको थियो । मार्क जुकरबर्ग अहिले मेटाभर्स प्रविधिको विकासमा केन्द्रित हुन चाहन्छन् । गुगलपछि विश्वको सबैभन्दा ठूलो विज्ञापन प्लेटफर्म मेटाले एपलको अपरेटिङ सिस्टमको गोपनीयता सेटिङमा परिवर्तन भएका कारण पनि असर परेको बताएको छ । वेनरका अनुसार यो परिवर्तनपछि कुनै पनि ब्राण्डलाई फेसबुक र इन्स्टाग्रामका युजरसम्म आफ्नो विज्ञापन पुर्याउनु र त्यसपछि यसको संख्या पा लगाउनु धेरै कठिन भएको छ । उनले यसबाट यस वर्ष करिब १० अर्ब डलरको अर्डर प्रभावित हुन सक्ने बताए ।
मुख्यतः विज्ञापनको बिक्रीबाट मेटाको आय बढेर ३३.६७ अर्ब डलर पुगेको छ । यो अपेक्षाभन्दा केही बढी हो । कम्पनीका अनुसार मौजुदा त्रैमासिकमा उसको राजश्व २७ देखि २९ अर्ब डलरको बीचमा हुन सक्छ । यो जानकारहरुको अनुमान भन्दा कम हो ।
अर्कोतर्फ टिकटकले सेप्टेम्बरमा विश्वभरी आफ्ना १ अर्ब सक्रिय प्रयोगकर्ता भएको बताएको थियो । साना साना भिडियोको लागि बनेको यो प्लेटफर्म चीनको बाइटडान्स कम्पनीको हो । सामाजिक संजालको कुरा गर्दा टिकटकको युजर वृद्धिदर शानदार छ । ४ वर्ष पहिले जनवरी २०१८ मा टिकटकका प्रयोगकर्ताको संख्या केवल साढे ५ करोड थियो । एक वर्षपछि उसका युजर बढेर २७ करोड पुगे । अर्को एक वर्षमा यो संख्या ५०.७ करोड पुगेको थियो ।
टिकटकसँग प्रतिस्पर्धाको लागि फेसबुक र यसको सहयोगी प्लेटफर्म इन्स्टाग्रामले पनि छोटा भिडियो बनाउने काममा लगानी गर्न सुरु गरेका छन् । यसका कारण पनि कम्पनीको नाफामा असर परेको छ । जुकरबर्गका अनुसार भिडियो बनाउने र भर्चुअल रियालिटीको विकासमा ध्यान केन्द्रित गरेको सकारात्मक नतिजा पाइनेमा उनलाई विश्वास छ । कम्पनीले पहिले मोवाइल विज्ञापन र इन्स्टाग्राम स्टोरीमा दाउ लगाइसकेको छ । कम्पनीले त इन्स्टाग्राम रिल्स नामको उक भिडियो फिचर पनि लञ्च गरेको छ ।
जुकरबर्गले भने आफ्नो कम्पनी टिकटकसँग प्रतिस्पर्धा गर्न इच्छुक नभएको बताएका छन् । उनले आफ्नो टिमले शानदार प्रदर्शन गरिरहेको र उनको उत्पादनले तीब्र रुपमा प्रगति गरिरहेको मान्छन् । फेसबुक सधैं प्रगति गर्ने प्लेटफर्म रहिआएको छ । यसका त्रैमासिक नतिजा सधैं एउटै दिशामा अर्थात बढिरहेका छन् । यद्यपि पछिल्ला केही वर्षमा कम्पनीको युरोप र अमेरिकामा विकास रोकिएको थियो तर विश्वका अन्य भागमा यसका युजरको संख्यामा भइरहेको पृद्धिका कारण यतातिर मानिसहरुको ध्यान गएको थिएन ।
अब युवाहरुमा फेसबुक त्यति लोकप्रिय रहेन जति पहिले कुनै समय थियो । अब त कम्पनीले पनि स्वीकार गरिरहेको छ कि टिकटकका कारण उसको कारोबारमा फरक परिरहेको छ । तर, अन्य कारणहरु पनि छन् जसका कारण लगानीकर्ताहरुका बीच मेटाका विषयमा चिन्ता छ । उनीहरुले मेटाभर्समा केन्द्रित हुनको लागि आफ्नो नाम बदले । तर, यो कम्पनी अहिले आफ्नो सपना अर्थात मेटाभर्स टेक्नोलोजीको विकासभन्दा कोसौं टाढा छ । यसका बावजुद केवल मार्क जुकरबर्गको सोचका कारण यो प्रविधिको विकासमा अरबौं डलर लगानी एउटा ठूलो खतरा बन्न सक्छ ।
मेटाको समस्याको एक तत्कालिक समाधान यही हुन सक्छ कि उसले टिकटक किनोस् । तर, अमेरिकाको प्रतिस्पर्धा कानुनका कारण त्यहाँका नियामकले यस्तो हुन दिने छैनन् । अब त सिलिकन भ्यालीमा कैयौं मानिसहरु फेसबुकलाई विषालु ब्राण्ड समेत मान्न थालेका छन् । उनीहरुका अनुसार अहिले कम्पनीमा कामको माहोल त्यस्तो छैन जस्तो १० वर्ष पहिले हुन्थ्यो । यसबाट प्रतिभाशाली व्यक्तिहरु कम्पनीमा जान र टिक्न कठिन भएको छ । हुन सक्छ मेटाले आगामी दिनमा अरु पनि समस्याको सामना गर्नुपर्नेछ । यो उनीहरुको समस्याका दिनको केवल सुरुवात हुन सक्छ ।