
महोत्तरी : मिथिला मध्यमा परिक्रमाका यात्रीहरु सोमबार जलेश्वर पुग्ने भएका छन् । मिथिला बिहारी तथा किशोरीजी को डोला सहित नेपाल भारतका सयौं संख्यामा रहेका यात्रुहरु परिक्रमामा सहभागी रहेका हुन्छन । यात्राको तेस्रो दिन भारतको बिहार राज्यमा पर्ने मधुवनी जिल्लाको फुलहर (गिरिजास्थान)मा रात्रि विश्राम गरेका यात्री शनिबार चौथौं दिन महोत्तरीको भारतीय सीमावर्ती मटिहानी पुगेका थिए ।
यस अघि विहीबार धनुषाको ठेराकचुरीबाट यात्रा सुरु गरेका मध्यमा परिक्रमाका यात्रीले क्रमशः धनुषाको हनुमानगढी र भारतको मधुवनीको कल्याणेश्वर (कलना)मा पहिलो र दोस्रो दिनको रात्रि विश्राम गरिसकेका छन् । मटिहानी प्रवेश गरेका परिक्रमाका यात्रीलाई मटिहानी नगर पालिकाका मेयर हरिप्रसाद मण्डल, जिल्लास्थित प्रशासनिक तथा सुरक्षा निकायका अधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी र मटिहानी नगरवासीले स्वागत गरेका छन् ।
आरोग्यता, कल्याण र मोक्ष कामनाका साथ गरिने मिथिला मध्यमा परिक्रमा यात्राका सहभागी पाँचौ दिन जलेश्वरनाथमा रात्रि विश्राम गर्नेछन् । पाँचौँ दिन जलेश्वर, छैठौँ दिन मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको रात्रि विश्राम पछि यात्री फेरि धनुषा जिल्ला प्रवेश गर्नेछन् ।
नेपाल र भारतको गरी जम्मा १ सय ३३ किलोमिटरको यो यात्रामा महोत्तरीमा २५ किलोमिटरको यात्रा गरिन्छ । ती मध्ये भारततर्फ २६ किमी र बाँकी धनुषा जिल्लाको क्षेत्र पर्दछन् ।
यसअघि त्रेतायुगमा श्रीराम र सीताजीले विवाहपश्चात मिथिलाका विभिन्न ठाउँमा घुम्दै बिहार गरेका सम्झनामा मिथिला माध्यमा परिक्रमाको परम्परा १८औँ शताब्दीमा सुरु भएको मिथिला संस्कृति र परम्पराका जानकारहरु बताउँछन् । रामसीताका पदचाप पछ्याउँदै उहाँहरूकै प्रतिमा राखिएका डोली अगाडि लगाएर गरिने यो यात्रा दैहिक नभएर पारलौकिक भएको साधुसन्तहरु बताउँछन् ।
सामलखाजा र एकसरो फेरफारका लुगाको पोको आफैँ बोकेर नाङ्गा खुट्टाले गरिने यो यात्राले सांसारिक दुःख, कष्टबाट मुक्ति दिने हिन्दू धर्मावलम्बिहरुको जनविश्वाश रहिआएको छ ।