
नेपालवाणी /जनकपुरधाम, फाल्गुन ३० ।
हेल्पिङ्ग ह्याण्डस् नेपाल गौशाला महोत्तरीको आयोजनामा सात दिने अगरबत्ती तालिम सम्पन्न भएको छ । लोहारपट्टी नगरपालिकाको सहयोगमा सञ्चालित अगरबत्ति तालिममा विशेषगरी गरिबीको रेखामुखी रहेको महिला तथा किशोरीहरुलाई तालिम प्रदान गरिएको हो ।
भौगोलिक हिसावमा समुह विभाजित गरी बिभिन्न चरणमा विभाजन गरि अगरबत्ति बनाउन सिकाईएको कार्यक्रम सहजीकरण गरेकी चाँदनी कुमार राउतले बताईन् । अगरबत्ती तालिमले २१ जना सदस्यहरुलाइ अगरबत्ती बनाउन सिकाएको र उनीहरुको दैनिक जिविकोपार्जनमा सघाउ पुर्याउने लोहारपट्टी नगरपालिकाका मेयर शैलेन्द्र यादवले प्रतिक्रिया दिए । उनले भने, ‘तालिममा बेरोजगार भई घरमै थन्किएर बसेका महिलाहरुको लागि तालिम सञ्चालन गरेका हौं, अब वहाँहरुले सिकेको कुरालाई व्यवहारमा परिणत गर्नुपर्छ, अनि मात्र सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सकिन्छ ।’
लोहारपट्टी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोद कुमार यादवले प्राविधिक तथा व्यवासायिक ज्ञानले बौद्धिक र व्यवहारिक ज्ञानको विकास हुने भएको व्यवहारत त्यसलाई दैनिक जीवनमा उर्तानुपर्ने बताए । उनले भने, ‘हामी व्यवहारिक तथा प्राविधिक ज्ञान सिक्छौं, तर त्यसलाई व्यवहारमा लागू नगर्ने परिपाटी छ तर व्यवहारमा लागु गरे आर्थिकोपार्जनको बलियो माध्यम बन्न सक्छ ।’
लोहारपट्टी नगरपालिका ९ का वडा अध्यक्ष जामुन यादव, वडा सदस्य लालबाबु यादव, वडा सचिव चन्देश्वर यादवको उपस्थितिमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको छ । साथै सहभागिहरुले ७ दिनमा उत्पादन गरेका अगरबत्ति समेत सहभागिहरुलाई प्रयोगका लागि वितरण गरिएको कार्यक्रम संयोजक मणिभुषण कुमार कर्णले जानकारी दिए ।
दलित समुदायको आर्थिक तथा सामाजिक सवलीकरण गर्ने उद्देश्यले सम्पन्न तालिममा स्थानीय दलित मलाह बस्तिका महिलाहरूको सहभागीता रहेको कार्यक्रम संयोजक कर्णले जानकारी दिए । तालिम लिएको महिलाहरुले ५ सय प्याकेट अगरवत्ती बनाउन सफल भएको बताए ।