महोत्तरी : महोत्तरीको बर्दिबासमा ‘रातु मित्र पार्क’ निर्माण कार्य थालिएको छ । बर्दिबास-१ रातु नदी किनारमा आज प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले रातु मित्र पार्क निर्माणको शुभारम्भ गर्नुभयो ।
रोटरी क्लव बर्दिवासको पहलमा वन तथा भू-संरक्षण विभाग र बर्दिबास नगरपालिकाको सहयोगमा सहरी वन कार्यक्रमअन्तर्गत वृृक्षारोपण तथा पार्क निर्माण कार्य थालिएको । पार्क निर्माणको लागत एक करोड छ लाख अनुमान गरिएको छ ।
रातु मित्र पार्कको निर्माण कार्यको शिलान्यास गर्दै पूर्वमन्त्रीसमेत रहनु भएका पोखरेलले मधेश प्रदेश बचाउन चुरे संरक्षण अपरिहार्य भएको बताउनुभयो । “चुरे र मधेशको प्राणवायु नै हराभरा वन हो” पोखरेलले भन्नुभयो, “चुरे रहेमात्र मधेश रहन्छ, तसर्थ हामीले प्रकृतिमैत्री व्यवहार अपनाउनु पर्छ ।”
चुरेबिनाको मधेशको कल्पना गर्न नसकिने बताउँदै पोखरेलले नदी किनार, पाखाक्षेत्र, पर्ति जग्गा र तटबन्धका कान्लामा वृक्षारोपण अभियान नै चलाउन बर्दिबासबासीलाई अपिल गर्नुभयो । यसपालि नै असारदेखि असोजसम्म बर्दिबास नगरक्षेत्रमा तीन लाख नयाँ बिरुवा रोपिएको कार्यक्रममा जानकारी दिइएको थियो । रोपिएका बिरुवाको स्याहार र रेखदेखको व्यवस्था गरिएको हुँदा अधिकांश बिरुवा हुर्केका नगरप्रमुख विदुरकुमार कार्कीले बताउनुभयो ।
रातु नदी तटको पर्ति जग्गामा निर्माण थालिएको पार्कको काम जारी आर्थिक वर्षभित्रै सम्पन्न गरिने रोटरीक्लव बर्दिबासले जनाएको छ । बर्दिवास नगरलाई हरित नगर बनाउन सबैको साथ र सहयोग आवश्यक रहको कार्यक्रममा सहभागीले बताएका छन् ।
रातु खोलाको नदी उकास जग्गाको करिब १५ बिघा क्षेत्रफलमा पार्क निर्माण गरिन लागिएको हो । यो पार्क मधेश प्रदेशकै मनोरम बन्ने रोटरीक्लवले जनाएको छ । कार्यक्रम रोटरी क्लव बर्दिबासका अध्यक्ष विष्णु खड्काको अध्यक्षतामा सम्पन्न भएको हो ।


