
नेपालवाणी / जनकपुरधाम ।
भ्रष्टाचार काण्डमा मुछिएका धनुषाको बटेश्वर गाउँपालिका अध्यक्षलाई नेकपा एमालेले पुनः अध्यक्षको उम्मेदवारको लागि सर्वसम्मत नाम सिफारिस गरेको छ । नेकपा एमालेले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षमा वर्तमान अध्यक्ष तथा भ्रष्टाचार काण्डमा मुछिएका डम्बर बहादुर राउतलाई पुनः पालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमाले गाउँपालिका कमिटीले राउतलाई सर्वसम्मत रुपमा पालिका अध्यक्षको उम्मेदवार घोषणा गरेको हो । गाउँपालिकाको अध्यक्षका लागि एमालेका गाउँपालिका अध्यक्ष राम खेलावन महतो, हिरालाल महतो, श्याम महतो, दिलिप लामा, रामपुकार महतो लगायत आकांक्षी थिए । तर पालिका कमिटिका अधिकांश सदस्य राउतको पक्षमा उभिएपछि अरु नेता पछि हटेको नेता हिरालालले बताए ।
एमालेले पुनः उम्मेदवार बनाउन लागेका राउत भ्रष्टाचार मुद्दामा मुछिएका थिए । अध्यक्ष राउतले २०७७ फागुन १७ गते गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माणको भुक्तानी दिए बापत ठेकेदारसँग ८ लाख रुपैयाँ घुस माग गरेका थिए । घुस लिदै गर्दा अख्तियारको टोलीलाई हेरेपछि उनी पैसा फ्याकेर भागेका थिए ।
सोही काण्डमा गाउँपालिका अध्यक्ष राउत झण्डै तीन महिना गाउँपालिकामा भन्दा बाहिर काठमाण्डौं लुकिछिपि बस्दै आएका थिए । तर अहिले आएर एमालेले पुनः अध्यक्ष राउतलाई नै दोश्रो पटक अध्यक्षका लागि उम्मेदवार बनाएको छ ।