
गोविन्द महतो / जनकपुरधाम
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको प्राणवायु् निर्वाचन तोकिएको समयमा हुने बताएका छन् । उनले निर्वाचन प्रति दलहरुको संशय हुने वक्तव्य आईरहेको प्रति निर्वाचन आयोग गम्भीर रहेको बताउँदै थपलियाले निर्वाचनको सन्दर्भमा कुनै कुनै तर्क वितर्क नगरी निर्वाचन केन्द्रित हुन आग्रह गरे ।
जनकपुरधाममा निर्वाचन आयोगले शनिवार आयोजना गरेको मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै आयुक्त थपलियाले भने, ‘निर्वाचनको मिति अब धकेलियो भने मुलुक दुर्घटनामा फस्ने सम्भावना छ । त्यसैले निर्धारित मितिमै निर्वाचन हुनेमा शंका नगर्नुस । निर्वाचनको क्षेप्यास्त्र प्रक्षेपण भईसकेको छ अब निर्वाचन अघिपछि सारिए क्षेप्यास्त्रको हमला हुने छ ।’
अब निर्वाचनको मिति चाहेर पनि सार्न नसकिने बताउँदै थपलियाले भने, ‘क्षेप्यास्त्र प्रक्षेपण भएपछि त्यसलाई तल माथी गर्ने प्रयास गरियो भने दुर्घटना नै हुन्छ, त्यसैले निर्वाचन निर्धारित मिति मै हुन्छ ।’ उनले यसै वर्षभित्र प्रदेश, प्रतिनिधि सभा, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन समेत गर्ने तयारी आयोगले गरिरहेको जानकारी दिए ।
यो पुरै वर्ष मुलुकका लागि निर्वाचन वर्ष भएकाले सम्पूर्ण पक्षलाई सक्रिय सहभागिताका साथै सहयोगका लागि समेत अपिल गरे । उनले भने, ‘स्थानीय तहको निर्वाचनलाई तलमाथि गर्ने वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो । यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ । त्यसकारण निर्वाचनसँग डराउनु पर्ने आवश्यकता नै छैन ।’
राष्ट्रिय एकता, राष्ट्रनिर्माण र राष्ट्र विकासको निमित्त मिडियाले निर्वाचन गराउन खेलेको भुमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्दै निर्वाचन आयोगको आचार संहितालाई सामान्य ढंगबाट नलिन समेत आग्रह गरे । उनले भने, ‘आफुले कस्तो आचरण, आचार र व्यवहार देखाउने हो, कस्तो संस्कार र प्रकृति बनाउने हो ? त्यो तपाई आफै स्वमुल्याङकन गर्नुहोस् ।’
मिडिया अभिमुखिकरण कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेष, नेपाल पत्रकार महासंघका सचिव पवन आचार्य, मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण सहितका वक्ताहरुले आफनो मन्तव्य राखेका थिए ।