नेपालवाणी / जनकपुरधाम,

आसन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरु बीच चुनाबी एकताको सम्भावना टरेको छ । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगर समितिले स्थानीय तहको निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेसंगै सत्तारुढ दलबीच गठबन्धनको सम्भावना टरेको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेसले जनकपुरधाममा एक्लै चुनाव लड्ने निर्णय गरेको पार्टीको उपमहानगर समितिले जनाएको छ । २०७४ सालको निर्वाचनमा जनकपुरधाममा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट लालकिशोर साह २१ हजार ९०३ मत ल्याएर निर्वाचित भएका थिए । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।

मेयर साह अहिले जसपामा छन् । जसपाले पुनः उनलाई नै मेयरको उम्मेदवार बनाउन लबिङ गरिरहेको छ । नगर सभापति समेत रहेका मनोज साहले उपमहानगरको २५ वटै वडाले गठबन्धन गर्न नहुनेमा जोड् दिए । उनले कांग्रेसलाई मेयर र उपमेयर दिएमा गठबन्धन मान्ने अन्यथा नमान्ने सञ्चारकर्मीलाई बताए ।

उनले भने, ‘ग्रास रुटको म्यान्डेटलाई मानेर हामी अघि बढ्छौँ । नगर कार्यसमितिको पदाधिकारी बैठकले पनि एक जनाको नाम मात्रै प्रस्ताव गर्ने निर्णय गरेको छ । यस्तो अवस्थामा हामी गठबन्धन गर्दैनौं ।’ कांग्रेस नेता विमलेन्द्र निधि, संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति योगेन्द्र पंजियार, नेता स्मृतिनारायण चौधरी, चन्द्रमोहन यादव र दिनेश प्रसैला पनि गठबन्धनको विरोधमा रहेको साहले बताए ।

निर्विकल्प उम्मेदवार हुँ : मनोज साह

नेपाली कांग्रेस जनकपुरधामका नगर सभापति मनोज साहले आफू मेयर पदको निर्विकल्प उम्मेदवार रहेको बताएका छन् । वैशाख ३० मा हुन लागेको स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट जनकपुरधामको नगर प्रमुखमा आफू निर्विकल्प उम्मेदवार रहेको साहले दाबी गरेका हुन् ।

साहले जनकपुरधामको मेयर पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आफ्नो पक्षमा जनताको मत आउने उनले दाबी गरे । उनले भने,‘म पार्टीका तर्फबाट मेयर पदका लागि निर्विकल्प उम्मेदवार हुँ । मेरो विकल्प नै छैन । त्यसैले पार्टीले फेरि मलाई नै टिकट दिन्छ भन्ने कुरामा म विश्वस्त छु ।’

उनले पार्टीले यसपालि आफूलाई टिकट उपलब्ध गराए आफ्नो जित सुनिश्चित रहेको दाबी समेत गरे । यसअघि २०७४ सालको निर्वाचनमा जनकपुरधाममा कांग्रेसबाट उम्मेदवार रहेका साहले ११ हजार १६४ मत प्राप्त गरेका थिए ।


२०७९ बैशाख ४, आईतवार ०८:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय