
नेपालवाणी,
जनकपुरधाम : सत्तारुढ गठबन्धनको बैठकबाट जनकपुरधाम उप–महानगरपालिका जनता समाजवादी पार्टीलाई दिने निर्णय पछि नेपाली कांग्रेसका कार्यकर्ताहरु स्थानीय तहको निर्वाचनमा केन्द्रिय हस्तक्षेपको बिरुद्धमा काँग्रेस सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ । जनकपुरधाममा नेपाली कांग्रेसका कार्यकर्ताहरुले विरोध प्रदर्शन गर्दै स्थानीय मुरली चोकमा कांग्रेसका कार्यकर्ताहरुले प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाको बिरुद्धमा प्रदर्शन गरेका हुन् ।
आसन्न स्थानीय तह निर्वाचनका लागि सत्तारुढ दलहरुबीच जनकपुरधाम उप–महानगरपालिकाको नेतृत्व जनता समाजवादी पार्टी नेपाललाई दिने निर्णय गरेसँगै जनकपुरधाममा काँग्रेसका नेता कार्यकर्ताहरु आक्रोशित भएका छन् । गठबन्धनले पार्टी कार्यकर्ताहरुको भावनासँग खेलवाड गरेको भन्दै उनीहरुले टायर बालेर सभापति शेरबहादुर देउवा र गठबन्धन बिरुद्ध नारावाजी गरेका छन् ।
उनीहरुले नेपाली कांग्रेस जिन्दावाद, शेरबहादुर देउवा मुर्दावाद, मधेशको दलालसँग गठबन्धन गर्न पाइँदैन लगायतका नारा समेत लगाएका थिए । कांग्रेस जनकपुरधामका नगर कोषाध्यक्ष वीरेन्द्र यादवले जनकपुरधाममा नेपाली कांग्रेस एक्लै चुनाव लड्न सक्ने अवस्थामा रहेपनि यो पालिका अन्य दललाई दिनु निन्दनीय रहेको बताए ।
केन्द्रिय गठबन्धनले पार्टीका स्थानीय नेता कार्यकर्ताको भावनासँग खेलवाड गरेकोले आफूहरु बिरोधमा उत्रेको यादवले बताए ।