
काठमाडौं : रुपन्देहीको भैरहवास्थित मुलुकको दोस्रो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी ए–३३० जहाजले सफल अवतरण गरेको छ ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजले बिहीवार विमानस्थलमा सफल अवतरण गरेको छ ।
७२ वर्षपछि राष्ट्रिय गौरवको आयोजना विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेर आएको विमान काठमाडौंबाट भैरहवामा ४५ मिनेटमै अवतरण गरेको थियो ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक ठूलो विमानको अवतरण भएपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रशासन अधिकृत विनोदसिंह रावतले वायुसेवा निगमको वाइडबडी जहाजले सफल परीक्षण उडान गरेको बताए । उनका अनुसार वैशाख १ गते नै वाइडबडी जहाजले उडान गर्ने भनिए पनि प्राविधिक कारण देखाउँदा केही ढिलाइ भएको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणका प्रमुख गोविन्दप्रसाद दाहाल वाइडबडी जहाजले सफल परीक्षण गरेकाले अब अन्तर्राष्ट्रिय उडान भर्न सहज हुने बताए । विमानस्थलको नयाँ धावनमार्ग अघिल्लो हप्तादेखि सञ्चालनमा आइसकेको छ । पुरानो धावन मार्गलाई ट्याक्सी पार्किङको रूपमा प्रयोग गरिएको छ ।
अहिले आन्तरिक तर्फबाट उडानहरू नयाँ धावनमार्गबाटै भइरहेका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत वैशाख ८ गतेदेखि विधिवतरूपमा सञ्चालनमा आइसकेको छ । यद्यपि यो विमानस्थलमा आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिनदेखि नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुनेछ ।
जजिराले आउँदो जेठ २ गतेदेखि हप्ताको ३ दिन कुवेतबाट गौतमबुद्ध विमानस्थलमा उडान गर्ने गरी अनुमति लिएको छ । उसले सोमवार, बुधवार र शुक्रवार उडान भर्नेछ । यस्तै अन्य वायुसेवा कम्पनीहरूले पनि चासो देखाइरहेको विमानस्थल प्राधिकरणले जनाएको छ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को शुरूमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले अवरोध भएको थियो ।
पछिल्लो पटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड महामारीका कारण करीब ५ वर्षपछि विमानस्थल व्यावसायिक रूपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्सट्रक्सन ग्रूपले निर्माण गरेको हो ।
एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको आयोजनाको पहिलो चरणमा करीब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र ३ हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।
एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले विमानस्थलमा एयर बसको उडानप्रति खुशी व्यक्त गर्दै अब विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको कामलाई छिटो अगाडि बढाउन सरकारसँग आग्रह गरे । विमानस्थल ७ वर्षमा निर्माण सम्पन्न भएको छ ।